काठमाडौं । लद्दाखका २८ स्थानको आधिकारिक नाम निर्धारण गर्ने भारतको कदमप्रति चीनले आपत्ति जनाएको छ । चीनले भारतको उक्त निर्णयलाई अवैध र अमान्य भन्दै विवादित क्षेत्रमाथिको आफ्नो दाबी नबदलिने बताएको छ ।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले मंगलबार भारतले लद्दाखका केही स्थानको मानक नाम सार्वजनिक गरेको विषयमा प्रतिक्रिया दिँदै तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले मान्यता नदिएको बताएकी हुन् ।
उनका अनुसार भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र तथा चीनको वास्तविक नियन्त्रणमा रहेका भनिएका केही स्थानसहित २८ क्षेत्रको नाम आधिकारिक नक्सामा समावेश गर्ने घोषणा गरेको थियो ।
उक्त निर्णयबारे प्रतिक्रिया दिँदै माओले भारतको कदमले चीन–भारत सीमाको पश्चिमी क्षेत्रमा रहेका भूभागमाथि चीनको दाबी परिवर्तन गर्न नसक्ने बताइन् ।
चीनको आपत्तिपछि भारतले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले लद्दाख भारतको अभिन्न र अविभाज्य हिस्सा भएको बताएका छन् ।
जयसवालले चीनले अस्वीकार गर्दैमा लद्दाख भारतको हिस्सा भएको तथ्य परिवर्तन नहुने दाबी गरेका छन् ।
भारत सरकारले अक्टोबर २ मा लद्दाखका २८ रणनीतिक तथा भौगोलिक स्थानको आधिकारिक नाम निर्धारण गरेको थियो । भारतका अनुसार ती स्थानको पहिचान स्पष्ट पार्न र आधिकारिक नक्सामा एकरूपता कायम गर्न उक्त कदम चालिएको हो ।
लद्दाखलाई लिएर चीन र भारतबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । पछिल्लो नामकरणसम्बन्धी निर्णयले दुई देशबीचको क्षेत्रीय दाबी र कूटनीतिक मतभेदलाई पुनः सतहमा ल्याएको छ ।








