काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अनियमिततामा संलग्न भएको आशंकामा हिमालयन एयरलाइन्सका कर्मचारी हंसराज जैशीमाथि अनुसन्धान गर्न विमानस्थल सुरक्षा कार्यालयलाई जिम्मा लगाएको छ ।
अध्यागमन कार्यालयका अनुसार गत सोमबार (२६ असोज) वैदेशिक रोजगारीका लागि विदेश जान लागेका एक यात्रुको श्रम स्वीकृतिको म्याद समाप्त भएको पाइएको थियो । त्यसपछि एयरलाइन्सका कर्मचारी जैशीले पुनः श्रम स्वीकृति गराउनुपर्ने भन्दै ती यात्रुसँग रकम लिएको आशंका गरिएको छ ।
कार्यालयको प्रारम्भिक छानबिनका क्रममा जैशीको मोबाइल नम्बरमा रहेको ईसेवामार्फत १४ हजार रुपैयाँको कारोबार भएको पाइएको जनाइएको छ ।
त्यस्तै, विमानस्थलको सीसीटीभी फुटेजमा यात्रुलाई सहजीकरण गर्ने बहानामा शंकास्पद गतिविधि भएको देखिएको अध्यागमन कार्यालयले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन जैशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाइएको कार्यालयले जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।








