काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले आफूलाई जिम्मेवारी सुम्पिने महाधिवेशन प्रतिनिधि, मतदाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेका हुन्। उनले प्राप्त मतलाई आफ्नो राजनीतिक जीवनको महत्त्वपूर्ण पुँजीका रूपमा उल्लेख गर्दै आगामी दिनमा सबैको सल्लाह र सुझावलाई आत्मसात् गरेर अघि बढ्ने बताएका छन्।
पौडेलले महाधिवेशनमा भएको प्रतिस्पर्धालाई लोकतन्त्रको स्वाभाविक अभ्यासका रूपमा लिँदै निर्वाचनका क्रममा देखिएका असमझदारी र तिक्तता बिर्सेर पार्टीभित्र भावनात्मक एकता कायम गर्नुपर्नेमा जोड दिएका छन्।
‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ उनले भनेका छन्।
उनका अनुसार कांग्रेसले विगतमा मुलुकका जटिल समस्याहरू समाधान गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। बदलिँदो राजनीतिक तथा आर्थिक परिस्थितिमा नागरिकका अपेक्षा सम्बोधन गर्न सक्ने समयसापेक्ष पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता रहेको उनले बताएका छन्।
पौडेलले कांग्रेसलाई आम नागरिकको सुखदुःखमा साथ दिने, जनजीविकाका सवालमा केन्द्रित हुने र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्ने भरोसायोग्य राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन्।
पार्टीको ऐतिहासिक योगदानलाई कायम राख्दै वर्तमान आवश्यकताअनुसार संगठनलाई रूपान्तरण गर्नुपर्ने उल्लेख गर्दै उनले एकता, जनमुखी राजनीति र नागरिकका दैनिक समस्याको समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
महामन्त्री पौडेलले १५औँ महाधिवेशन सफल बनाउन योगदान पुर्याउने सबै नेता, कार्यकर्ता तथा प्रतिनिधिप्रति पनि धन्यवाद व्यक्त गरेका छन्।








