काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्धको घेराबन्दी अझै जारी रहेको आरोप लगाएका छन्। उनले आगामी निर्वाचनमा पनि एमालेविरुद्ध घेराबन्दी हुन सक्ने भन्दै त्यसको सामना गर्न पार्टी तयार रहनुपर्ने बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ समारोहलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्र, स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको दाबी गरे। उनले ती उपलब्धिको पुनःस्थापनाका लागि अघि बढ्नुपर्नेमा जोड दिए।

‘लोकतन्त्र मासिएको छ। स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको छ। यी चिजको पुनःप्राप्ति गर्नु अनिवार्य सर्त हो,’ उनले भने, ‘बलजफ्ती दमन गरिन्छ भने त्यसलाई अस्वीकार गरेर प्रतिवादमा उत्रिन्छौँ।’

ओलीले शान्ति र न्यायका लागि आवश्यक परे आन्दोलन गर्नुपर्ने उल्लेख गर्दै बलियो पक्षले कमजोरमाथि बलजफ्ती गरे त्यसको प्रतिवाद गर्नु आन्दोलन भएको बताए। उनले आगजनी र लुटपाटलाई भने आन्दोलन मान्न नसकिने धारणा राखे।

‘आगो लगाउनु, लुटपाट गर्नु आन्दोलन होइन। ठूलो र बलियोले कमजोरलाई बलजफ्ती गर्छ भने त्यसको प्रतिवाद गर्नु मात्रै आन्दोलन हो,’ उनले भने।

आगामी निर्वाचनलाई लक्षित गर्दै ओलीले विगतका निर्वाचन र राजनीतिक घटनाक्रममा पनि आफ्नो पार्टीविरुद्ध घेराबन्दी भएको दाबी गरे। उनले २०७७ र २०७९ सालमा एमालेविरुद्ध घेराबन्दी गरिएको उल्लेख गर्दै अहिले पनि त्यस्तो अवस्था कायम रहेको बताए।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी चुनौतीको सामना गर्दै अघि बढ्न आह्वानसमेत गरे।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय