काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले मंगलबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। क्यानडालाई पराजित गर्दै शृङ्खलाको सुरुवात गरेको नेपाल दोस्रो जितको खोजीमा मैदान उत्रन लागेको हो।

ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट ग्राउन्डमा हुने नेपाल र ओमानबीचको खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ। नेपालले घरेलु टोलीलाई हराउँदै लिग–२ को अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्य राखेको छ।

शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको थियो। उक्त खेलमा कप्तान रोहित पौडेलले १०१ रनको शतकीय इनिङ्स खेलेका थिए। बलिङतर्फ करण केसी, ललित राजवंशी, नन्दन यादव र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिएका थिए।

नेपाल शीर्ष चारमा रहेर प्रत्यक्ष विश्वकप छनोटमा पुग्ने दौडबाट बाहिरिइसकेको छ। अब आगामी चक्रका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन शीर्ष ६ भित्र रहनु नेपालका लागि महत्त्वपूर्ण छ।

उपलब्ध अंकतालिकाअनुसार नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौँ स्थानमा छ। ओमान भने २९ खेलबाट ३३ अंक जोड्दै चौथो स्थानमा रहेको छ।

घरेलु टोली ओमान पनि क्यानडालाई ४१ रनले पराजित गरेको आत्मविश्वाससहित मैदान उत्रनेछ। ओमानका कप्तान तथा ब्याटर जितेन्डर सिंह र लिग–२ मा ५२ विकेट लिइसकेका बलर शकिल अहमद नेपालका लागि चुनौती बन्न सक्नेछन्।

नेपाल र ओमानबीच अहिलेसम्म भएका ११ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये नेपालले पाँच र ओमानले छ खेल जितेका छन्। यस ऐतिहासिक तथ्याङ्कमा ओमान सामान्य रूपमा अगाडि रहे पनि नेपाल आजको खेल जित्दै अंकतालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ।

नेपाल र ओमानबीचको खेल कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुनेछ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय