काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६, लोक्पामा आइतबार बिहान आएको लेदोसहितको बाढीबारे स्थानीयले समयमै खबर नगरेको भए ठूलो मानवीय क्षति हुन सक्थ्यो। माथिल्लो भेगका बासिन्दाले दिएको सूचनाका कारण तल्लो क्षेत्रमा रहेका धेरै मानिसले सुरक्षित स्थानमा जाने समय पाए। तर सरकारी पूर्वसूचना प्रणालीबाट सूचना आउन ढिलाइ भएको र हिमाली क्षेत्रमा बाढी मापन गर्ने उपकरण नहुँदा जोखिम पहिचानमा चुनौती रहेको देखिएको छ।

लोक्पाका स्थानीय सेराप गुहिमाली क्षेत्रमा बाढी पूर्वसूचना प्रणाली कमजोर, स्थानीयको खबरले जोगिए बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दा

रुङले बिहान करिब ४ बजे भूकम्पजस्तो कम्पन महसुस गरेका थिए। केही समयपछि त्यो भूकम्प नभई लेदोसहितको बाढी भएको थाहा पाएपछि उनले बिहान ४ बजेर ३६ मिनेटतिर जगत बगर र माछिखोलामा रहेका व्यक्तिहरूलाई फोन गरेर जानकारी गराए।

गुरुङका अनुसार माथिल्लो क्षेत्रबाट आएको सूचनालाई तल्लो भेगका बासिन्दाले एकअर्कालाई सुनाउँदै सतर्कता अपनाएका थिए। जगत बगरमा रहेका सुना गुरुङले पनि बिहानै फोनमार्फत ठूलो बाढी आएको खबर पाएपछि स्थानीयलाई उठाएर सुरक्षित स्थानतर्फ लगेका थिए।

जगत बगरमा करिब १३–१४ वटा घर तथा टहरा रहेको र प्रत्येक घरमा पाँचदेखि सात जनासम्म बस्ने गरेको सुनाले बताए। स्थानीयले वृद्धवृद्धालाई समेत सुरक्षित स्थानमा पुर्‍याएका थिए। बाढीले घर र गाडी बगाए पनि समयमै सूचना पाएकाले मानवीय क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ।

सुनाले बिहान ४ बजेर ५९ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमार्फत तल्लो क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गर्दै सूचना सार्वजनिक गरेका थिए। उनले बाढीसम्बन्धी भिडियोसमेत सामाजिक सञ्जालमा राखेका थिए।

सरकारी सूचना आउन ढिलाइ, हिमाली क्षेत्रमा उपकरणको अभाव

स्थानीयका अनुसार सरकारी संयन्त्रबाट बाढीबाट सुरक्षित रहन आग्रह गर्दै सूचना आउनुअघि नै उनीहरूले घटनाबारे जानकारी पाइसकेका थिए। सेराप गुरुङले मोबाइलमा सरकारी सूचना बिहान ६ बजेर ५३ मिनेटतिर प्राप्त भएको बताए। त्यसअघि प्रहरीले बिहान साढे ५ बजे सामाजिक सञ्जालमार्फत बूढीगण्डकी नदीको बहाव बढेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।

बाढी पूर्वानुमान महाशाखाका अनुसार हिमाली क्षेत्रमा नदीको पानीको सतह मापन गर्ने स्वचालित उपकरण पर्याप्त छैनन्। बूढीगण्डकी नदीमा आरुघाट पुलमा मात्रै स्वचालित सेन्सर राखिएको थियो। माथिल्लो क्षेत्रमा बाढी आउँदा उक्त उपकरणसम्म पानी नपुग्दासम्म प्रत्यक्ष मापनका आधारमा सूचना प्राप्त गर्न कठिन हुने गरेको छ।

महाशाखाका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार हिमाली क्षेत्रमा बाढीसम्बन्धी सूचना प्राप्त गर्न स्थानीय बासिन्दा र सम्बन्धित पालिकामा निर्भर हुनुपर्ने अवस्था छ। बूढीगण्डकीको घटनामा पनि सुरुमा माथिल्लो क्षेत्रका समुदायबाट सूचना प्राप्त भएको उनले बताए।

आरुघाटमा नदीको सतह मापन हुँदा करिब आठ मिटर बढेको जानकारी सार्वजनिक गरिएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार बाढीले आरुघाटको पुल बगाउँदा त्यसमा जडान गरिएको स्वचालित मापन उपकरणसमेत बगाएको थियो।

रसुवामा आएको बाढीमा पनि उपकरणले प्रभावकारी सूचना दिन नसकेको पराजुलीले बताए। उनका अनुसार अत्यधिक ठूलो बाढीका कारण मापन प्रणाली नै प्रभावित हुने जोखिम देखिएको छ।

प्राधिकरणका उपसचिव केसीले यस प्रकारका घटनालाई सीमापार विपद्का रूपमा समेत लिनुपर्ने बताएका छन्। उनका अनुसार सीमावर्ती क्षेत्रमा विपद्सम्बन्धी सूचना प्राप्त गर्न सम्बन्धित निकायबीच समन्वय र कूटनीतिक पहल आवश्यक छ।

देशभर करिब २०० स्वचालित बाढी मापन केन्द्र

बाढी पूर्वानुमान महाशाखाका अनुसार देशभर करिब २०० स्वचालित बाढी मापन केन्द्र सञ्चालनमा छन्। पछिल्लो दशकमा उच्च जोखिम भएका क्षेत्रलाई प्राथमिकता दिँदै मापन केन्द्र स्थापना र स्तरोन्नति गर्ने काम गरिएको महाशाखाले जनाएको छ।

तर, जोखिमयुक्त सबै क्षेत्रमा उपकरण जडान गर्न नसकिएको र हालका घटनाले हिमाली क्षेत्रमा समेत यस्ता केन्द्र विस्तार गर्नुपर्ने आवश्यकता देखाएको पराजुलीको भनाइ छ।

उनका अनुसार एउटा स्वचालित बाढी मापन केन्द्र स्थापना गर्न करिब १० देखि १२ लाख रुपैयाँ खर्च हुन्छ। लगानी र जनशक्तिको सीमितताका कारण सबै क्षेत्रमा एकैपटक उपकरण जडान गर्न कठिनाइ भइरहेको छ।

हाल प्रयोगमा रहेका राडार लेभल सेन्सरले रेडियो तरङ्गका आधारमा नदीको सतह मापन गरी तथ्यांक स्वचालित रूपमा सर्भरमा पठाउँछन्। सञ्चारका लागि नेपाल टेलिकम वा एनसेलको सिमकार्ड प्रयोग गरिने र तथ्यांकको गुणस्तर जाँचपछि वेबसाइटमा सार्वजनिक गरिने व्यवस्था छ।

महाशाखाले बाढी मापन केन्द्रमा सीसीटीभी क्यामेरासमेत जडान गर्न थालेको जनाएको छ। यसबाट नदीको बहाव र आसपासको अवस्थाबारे दृश्यात्मक जानकारी लिन सकिन्छ।

पहिले प्रत्येक १० मिनेटमा तथ्यांक पठाउने गरी राखिएका केही उपकरणको समय अन्तरालसम्बन्धी व्यवस्थामा सुधार गरिएको पनि पराजुलीले बताएका छन्। आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राख्दै तथ्यांक प्राप्त हुने समय घटाउनु र उपकरणको पहुँच हिमाली क्षेत्रसम्म विस्तार गर्नु आवश्यक देखिएको छ।

बूढीगण्डकीमा आएको बाढीले स्थानीयस्तरमा सूचना आदानप्रदानको महत्त्व देखाएको छ। तर, समुदायको सतर्कतामै निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्न हिमाली क्षेत्रमा बाढी मापन उपकरण विस्तार, छिटो सूचना प्रवाह र अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउनुपर्ने चुनौती देखिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय