सन्धिखर्क नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई स्मार्ट कार्डमार्फत डिजिटल अपाङ्गता परिचयपत्र वितरण गर्न सुरु गरेको छ। यसअघि हातले लेखेर परिचयपत्र वितरण गर्दै आएको नगरपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित डिजिटल प्रणाली कार्यान्वयनमा ल्याएको हो।

नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्यले अपाङ्गता भएकी एक बालिकालाई डिजिटल परिचयपत्र प्रदान गर्दै वितरण कार्यको शुभारम्भ गरेकी हुन्।

उपप्रमुख आचार्यले डिजिटल प्रणालीको प्रयोगबाट नगरपालिकाका सेवा छिटो, सहज र प्रभावकारी बन्ने विश्वास व्यक्त गरिन्। उनका अनुसार स्मार्ट कार्डमार्फत परिचयपत्र वितरण सुरु भएपछि सेवा प्रवाहलाई थप विश्वसनीय र पारदर्शी बनाउन सहयोग पुग्नेछ।

नगरपालिकाले स्थानीय तहबाट प्रदान गरिने सेवालाई आधुनिक प्रविधिसँग जोड्दै नागरिकलाई सहज सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ। डिजिटल परिचयपत्र प्रणालीले अपाङ्गता भएका व्यक्तिहरूको पहिचान तथा परिचयपत्रसम्बन्धी अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हातले लेखेर परिचयपत्र वितरण गर्ने पुरानो प्रक्रियाको सट्टा स्मार्ट कार्डको प्रयोग सुरु भएपछि परिचयपत्र व्यवस्थापनमा सहजता आउने नगरपालिकाको विश्वास छ। यससँगै स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउने प्रयासलाई पनि थप गति मिल्ने अपेक्षा गरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय