सिड्नी । अस्ट्रेलियामा नर्सिङ अध्ययनको अन्तिम सेमेस्टरमा रहेकी २५ वर्षीया नेपाली विद्यार्थी सञ्जु राईको सडक दुर्घटनामा परी मृत्यु भएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३, बनौली घर भएकी राईको गत अक्टोबर २ मा न्यु साउथ वेल्समा भएको दुर्घटनामा मृत्यु भएको हो।

चार्ल्स स्टर्ट विश्वविद्यालयमा नर्सिङ अध्ययनरत राई व्यावहारिक अभ्यास (प्लेसमेन्ट) पूरा गरेर गाउलबर्नबाट बाथर्स्टस्थित आफ्नो निवासतर्फ फर्किने क्रममा दुर्घटनामा परेकी थिइन्।

प्राप्त विवरणअनुसार न्यु साउथ वेल्सको ब्ल्याक स्प्रिङ्सनजिकै डग रक्स रोडमा साँझ करिब ५ बजे उनले यात्रा गरिरहेको कार अनियन्त्रित भई सडकबाट बाहिरिएर रुखमा ठोक्किएको थियो। दुर्घटनामा राईको मृत्यु भएको थियो भने कारमा सवार अर्की २४ वर्षीया विद्यार्थी घाइते भएकी थिइन्। उनलाई उद्धार गरी उपचारका लागि लिभरपुल अस्पताल लगिएको थियो।

नर्सिङ अध्ययन पूरा गरेर अस्ट्रेलियामै दर्ता प्राप्त नर्सका रूपमा व्यावसायिक जीवन सुरु गर्ने तयारीमा रहेकी राईको निधनले परिवार, साथीभाइ तथा विश्वविद्यालय समुदाय शोकमा परेको छ।

शव नेपाल ल्याउन ३६ हजार ३९० अस्ट्रेलियन डलर सङ्कलन

सञ्जुको पार्थिव शरीर नेपाल ल्याएर पारिवारिक परम्पराअनुसार अन्तिम संस्कार गर्ने उद्देश्यले उनका दाजु योगेश राईले आर्थिक सहयोग अभियान सञ्चालन गरेका थिए। उक्त अभियानमार्फत ५३६ जना दाताबाट कुल ३६ हजार ३९० अस्ट्रेलियन डलर सङ्कलन भएको जनाइएको छ।

सङ्कलित रकम सञ्जुको पार्थिव शरीर नेपाल पठाउन, अन्तिम संस्कार गर्न तथा शोकसन्तप्त परिवारलाई आवश्यक सहयोग पुर्‍याउन खर्च गरिने बताइएको छ।

विश्वविद्यालयद्वारा दुःख व्यक्त

चार्ल्स स्टर्ट विश्वविद्यालयकी उपकुलपति प्राध्यापक रेनी लियोनले सञ्जुको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवार, साथीभाइ तथा विश्वविद्यालय समुदायप्रति समवेदना प्रकट गरेकी छन्।

विश्वविद्यालयले घटनाबाट प्रभावित विद्यार्थी तथा कर्मचारीलाई आवश्यक परामर्श र मनोसामाजिक सहयोग उपलब्ध गराएको जनाएको छ।

यसैबीच, अस्ट्रेलियाको स्थानीय प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय