काठमाडौँ  । बहु–क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पहिलो गृहमन्त्रीस्तरीय बैठक सुरु हुने भएको छ ।

भारतका गृहमन्त्री अमित साहको अध्यक्षतामा बस्ने बिमस्टेकको बैठकमा सदस्य राष्ट्रहरू नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डको सहभागी रहेका छन् । गृहमन्त्रीस्तरीय बैठक बस्नुअघि गृहमन्त्रालयका सचिवहरुको बैठक बसेको थियो । गृहमन्त्री स्तरीय बैठकमा प्रस्तुत हुने एजेण्डाको बैठक बारे छलफल गरेको भारतस्थित नेपाल दूतावासले जनाएको छ ।

केही बेरमा बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक बस्ने बताइएको छ । आजको बैठकमा नेपालको तर्फबाट गृहमन्त्री सुधन गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बोधनमा गृहमन्त्री गुरुङले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गइरहेको प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्ने तथा सदस्य राष्ट्रहरू बिच पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने विषयमा कुरा राख्ने गृहमन्त्रालयले जनाएको छ ।

त्यस्तै, सुरक्षा चासोका रूपमा रहेका साइबर अपराध, लागुऔषधको अवैध ओसारपसार, मानव बेचबिखन तथा ओसारपसार र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अपराध नियन्त्रणमा साझा रणनीति र सहकार्यको विषय पनि उनले राख्ने बताइएको छ ।

आतकंवादी क्रियाकलापको सामना गर्न र आतकंवादी गतिविधिमा हुने वित्तीय लगानीलाई निरुत्साहित गर्न सदस्यहरू बिच गुप्तचर तथा कानुन कार्यान्वयन गर्नुको साथै समन्वय बढाउने बताइएको छ ।

भारतका गृहमन्त्री अमित शाहले बैठकलाई ऐतिहासिक भन्दै यो बैठकले आतंकवाद, सीमापार संगठित अपराध, लागुऔषध, कट्टरपन्थ, मानव बेचबिखन, अवैध वित्तीय प्रवाह र साइबर खतराहरूविरुद्ध लड्ने साझा संकल्पलाई जोड दिने भनेका छन् ।

बंगलादेशका गृहमन्त्रीद्वारा बैठक बहिष्कार

भारतमा हुन गइरहेको गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा बंगलादेशका गृहमन्त्री सलाहउद्दीन अहमदल सहभागी नहुने भएको छ । कार्यक्रममा बंगलादेशबाट गृह सचिव सचिव मन्जुर मोर्सेद चौधरी सहभागी हुने बताइएको छ ।

सात सदस्य राष्ट्रहरू सम्मिलित एक क्षेत्रीय संगठन हो । ६ जुन १९९७ मा बिम्स्टेकको स्थापना भएको हो । सुरुमा बंगलादेश, भारत, श्रीलंका र थाइल्याण्ड आर्थिक सहयोगको रूपमा स्थापना भएको थियो । पछि यो समूहमा १९९७ डिसेम्बरमा म्यानमार समावेश भएको थियो । सन् २००४ मा नेपाल र भुटान सहभागी भएका थिए ।

यो संगठनले कृषि तथा खाद्य सुरक्षा, नीलो अर्थतन्त्र, कनेक्टिभिटी, संस्कृति, विपद् व्यवस्थापन, ऊर्जा, वातावरण तथा जलवायु परिवर्तन, वित्तीय तथा मौद्रिक नीति, स्वास्थ्य, मानव संसाधन विकास, मत्स्यपालन तथा पशुपालन, र जनस्तरको सम्बन्धलगायतका क्षेत्रहरूमा सहकार्य बढाउँदै लगेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय