पाकिस्तान । पाकिस्तानको पञ्जाब प्रान्तमा मंगलबार बिहान रेल दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
कराँचीबाट पेशावरतर्फ गइरहेको रहमान बाबा एक्सप्रेस मुल्तानस्थित शेर शाह पुलनजिकै पटरीबाट खसेको हो। प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ५ः१५ बजे दुर्घटना भएको थियो।
दुर्घटनामा रेलका सबै १४ वटा डिब्बा पटरीबाट खसेका छन्। घाइतेहरूलाई उपचारका लागि मुल्तानस्थित निस्थार अस्पतालमा भर्ना गरिएको छ। घटनास्थलमा प्रहरी तथा उद्धारकर्मीले उद्धार र राहत कार्य जारी राखेका छन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार कार्य तीव्र बनाउन र घाइतेलाई तत्काल उचित उपचार उपलब्ध गराउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।
दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गर्ने जनाएको छ।
पाकिस्तानमा यसअघि पनि ठूला रेल दुर्घटना भएका छन्। सन् २०२३ को अगस्टमा सिन्ध प्रान्तको नवाबशाहनजिकै हजारा एक्सप्रेस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए। उक्त घटनापछि पाकिस्तानको रेल सुरक्षा र मर्मतसम्भार व्यवस्थामाथि प्रश्न उठेका थिए।








