शक्तिशाली भूकम्पका कारण घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पानमा सरकारले राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आपत्काल घोषणा गरेको छ। यसैबीच, मङ्गलबार बिहान पानमामा ६.१ म्याग्निच्युडको अर्को भूकम्प गएको नेसनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) ले जनाएको छ।

यसअघि शुक्रबार पानमामा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि १४७ वटा परकम्प गइसकेका छन्, जसमध्ये केहीको तीव्रता ६.१ देखि ६.६ म्याग्निच्युडसम्म मापन गरिएको थियो। भूकम्पको केन्द्र लस सान्टोस प्रान्तको टोनोसीबाट करिब ३९ किलोमिटर उत्तरपश्चिममा रहेको जनाइएको छ।

भूकम्पबाट सबैभन्दा बढी क्षति दक्षिणी तटीय क्षेत्रको कोक्ले प्रान्तमा पुगेको छ। राजधानी पानमा सहरमा समेत भौतिक संरचनामा क्षति भएको छ। प्रारम्भिक विवरणअनुसार केही व्यक्ति सामान्य घाइते भएका छन्।

राष्ट्रपति जोस राउल मुलिनोले राहत तथा उद्धार कार्यको समन्वय, स्रोतसाधनको व्यवस्थापन र प्रभावित समुदायका आवश्यकता सम्बोधन गर्न आयोग गठन गर्न निर्देशन दिनुभएको छ। सरकारले सहयोग सङ्कलनका लागि केन्द्र स्थापना गर्नुका साथै प्रभावित क्षेत्रका अस्पतालमा बिरामीलाई सुरक्षित स्थानमा सारेर उपचारको व्यवस्था गरेको छ।

भूकम्पपछि सावधानीका रूपमा दुईवटा मेट्रो लाइनको सेवा स्थगित गरिएको थियो। देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल पनि अस्थायी रूपमा बन्द गरिएकोमा पछि पुनः सञ्चालनमा ल्याइएको थियो।

यसैबीच, अमेरिकी दूतावासले मध्य तथा दक्षिण अमेरिकाका नौ देशमा परकम्प र सुनामीको सम्भावित जोखिमबारे चेतावनी दिएको थियो। यद्यपि, अमेरिकी सुनामी चेतावनी प्रणालीले पछि सुनामीको खतरा नरहेको जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय