काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चितता बढिरहेको उल्लेख गर्दै देशलाई निकास दिने शक्ति राप्रपा मात्रै भएको दाबी गरेका छन्।
नेपाल सनातन धर्म संस्कृति सङ्गठनको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अन्य राजनीतिक दलहरू असफलतातर्फ उन्मुख भएको टिप्पणी गरे। उनले देशको नेतृत्व गर्न राप्रपा तयार हुनुपर्नेमा जोड दिए।
लिङ्देनले परम्परागत कार्यशैलीबाट मात्रै पार्टीलाई बलियो बनाउन नसकिने बताउँदै नेतृत्वदेखि कार्यकर्तासम्मले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने धारणा राखे। मुलुकका विद्यमान चुनौतीको सामना गर्दै पार्टीलाई नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्न आगामी महाधिवेशनमार्फत सङ्गठनको पुनर्गठन गर्नुपर्ने उनको भनाइ थियो।
पार्टीलाई विस्तार गर्न सीमित कार्यकर्तामा मात्र निर्भर नभई आम नागरिकका लागि ढोका खुला गर्नुपर्ने उनले बताए। राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको एजेन्डालाई स्थापित गर्न पनि सङ्गठन विस्तारसँगै प्रभावकारी राजनीतिक गतिविधि आवश्यक रहेको लिङ्देनले उल्लेख गरे।
‘नेपालको राजनीति एउटा अँध्यारो सुरुङमा प्रवेश गरेको छ। सबै राजनीतिक दलहरू असफलताको बाटोतर्फ गइरहेका बेला देशलाई निकास र दृष्टि दिने कुनै शक्ति जीवित छ भने त्यो राप्रपा हो,’ उनले भने।
हालको सङ्गठन र कार्यकर्ताको सङ्ख्याले मात्रै पार्टी ठूलो बन्न नसक्ने उल्लेख गर्दै लिङ्देनले राप्रपालाई आम नागरिकको पार्टीका रूपमा विकास गर्नुपर्ने बताए। त्यसो गर्न सके मात्रै पार्टीका आदर्श र एजेन्डा स्थापित गर्न सकिने उनको भनाइ थियो।
आसन्न महाधिवेशनलाई पार्टी पुनर्गठन र नयाँ ढङ्गले अघि बढ्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष लिङ्देनले नेता तथा कार्यकर्तालाई महाधिवेशनको तयारीमा जुट्न आह्वान गरे।








