काठमाडौं। बलरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी शृङ्खलामा लगातार दोस्रो जित निकालेको छ। मंगलबार अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो।
नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटियो। ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
ओमान एक समय १२ ओभरमा ४१ रन जोड्दा ६ विकेट गुमाएर संकटमा परेको थियो। त्यसपछि शुक्ला र जय ओडेराले ८३ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरे। ओडेरा २५ रन बनाएर आउट भए।
नेपालका नन्दन यादवले ६ ओभरमा १२ रन खर्चेर तीन विकेट लिए। कप्तान सन्दीप लामिछानेले नौ ओभरमा २८ रन दिँदै तीन विकेट हात पारे। दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ६७ बलमा तीन चौका र एक छक्का प्रहार गरे।
अर्जुन कुमालले ४० रन बनाउँदा बसिर अहमद र इशान पाण्डेले समान ३७ रन जोडे। दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए।
नेपालको इनिङ्सलाई अन्त्यतिर आक्रामक बनाउने क्रममा करण केसीले १६ बलमा ४० रन प्रहार गरे। उनले ४९औँ ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गरेका थिए भने अन्तिम ओभरमा शाह फेसलको बलमा पनि छक्का हाने।
ओमानका शाह फेसल, शकील अहमद र करण सोनाभालेले दुई–दुई विकेट लिए भने हस्नेन शाहले एक विकेट हात पारे।
यस जितसँगै लिग–२ को अंकतालिकामा छैटौँ स्थानमा रहेको नेपालको ३४ खेलबाट २८ अंक पुगेको छ। ओमान भने ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ।
नेपालले अब आगामी शनिबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।








