काठमाडौं । आजपा निकट आम महिला मोर्चाकी अध्यक्ष रञ्जु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनीमाथि कडा कानुनी कारबाही गर्न माग गरेकी छन् ।
महिलालाई अश्लील गाली तथा धम्की दिइएको भनिएको अडियो सार्वजनिक भएपछि साहले सुनारको अभिव्यक्ति समग्र महिलाको अपमान भएको टिप्पणी गरेकी हुन् । उनले सुनारको अभिव्यक्ति र सोचको निन्दा गर्दै तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन माग गरेकी छन् ।
साहले उक्त प्रकरणमा रास्वपाले विज्ञप्ति जारी गरेर कारबाही गर्ने बताउनु मात्रै पर्याप्त नहुने धारणा व्यक्त गरेकी छन् । पार्टीको विज्ञप्ति जनतालाई भुलाउने प्रयास भएको आरोप लगाउँदै उनले प्रतिबद्धताअनुसार तत्काल कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताएकी हुन् ।
‘खगेन्द्र सुनारको अभिव्यक्ति आम महिलामाथिकै अपमान हो । उनीमाथि कडा भन्दा कडा कारबाही हुनुपर्छ,’ साहले भनेकी छन् ।
उक्त अभिव्यक्तिसम्बन्धी प्रकरणमा सम्बन्धित निकायबाट हुने छानबिन र कानुनी प्रक्रियाबारे भने थप विवरण सार्वजनिक भएको छैन ।








