काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच मंगलबार भारतको नयाँदिल्लीमा भेटवार्ता भएको छ ।
भारतमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले भारतीय समकक्षी शाहसँग भेटवार्ता गरेका हुन् । भारतस्थित नेपाली दूतावासका अनुसार भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
भेटवार्तामा सीमा व्यवस्थापन, अन्तरदेशीय अपराध नियन्त्रण तथा विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीच कुराकानी भएको जनाइएको छ ।
गृहमन्त्री गुरुङले सार्वभौम समानता, पारस्परिक सम्मान र विश्वासका आधारमा दुवै देशका जनताको हितका लागि व्यावहारिक सहयोगलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
त्यसैगरी, नेपालमा हालै आएको बाढीपहिरोपछि भारत सरकारले समयमै सहयोग उपलब्ध गराएको भन्दै गृहमन्त्री गुरुङले भारत सरकारप्रति आभार व्यक्त गरेका छन् ।








