काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङप्रति विश्वास व्यक्त गर्दै कथित चिनियाँ जासुससँगको सम्बन्धबारे भइरहेको अनुसन्धानले उनलाई समस्या नपार्ने बताएका छन् ।
हुआङको चिनियाँ जासुसी अभियानसँग सम्बन्ध रहेको आशंकासम्बन्धी समाचार सार्वजनिक भएपछि ट्रम्पले सोमबार उनीसँग फोनमा कुराकानी गरेका थिए । पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले हुआङलाई ती महिला चिनियाँ जासुस हुन् भन्ने थाहा थियो कि थिएन भनेर सोधेको र उनले आफूलाई कुनै जानकारी नभएको जवाफ दिएको बताए ।
उनले ती महिला जासुस हुन् भन्ने आफूलाई कुनै जानकारी नभएको बताए । म उनलाई विश्वास गर्छु,’ ट्रम्पले भने । उनले हुआङलाई सम्मानित व्यक्ति भन्दै अनुसन्धानबाट उनलाई कुनै समस्या नहुने विश्वाससमेत व्यक्त गरे ।
न्युयोर्क टाइम्सको रिपोर्टअनुसार अमेरिकी गुप्तचर अधिकारीहरूले एलिस हुआङ (हुआङ ले) नामकी महिलालाई बेइजिङका लागि काम गर्ने जासुस भएको आशंका गरेका छन् । उनी सिंगापुरस्थित मेगास्पिड कम्पनीकी प्रबन्ध निर्देशक थिइन् । उक्त कम्पनीको एनभिडियासँग व्यावसायिक सम्बन्ध रहेको बताइएको छ । एलिस र एनभिडियाका प्रमुख जेनसन हुआङबीच भने पारिवारिक सम्बन्ध छैन ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले छ महिनाअघि नै एनभिडियाका प्रमुखको चिनियाँ जासुससँग निकट सम्बन्ध रहेको भन्दै उच्च सरकारी अधिकारीहरूलाई चेतावनीसहितको ज्ञापनपत्र पठाएको रिपोर्टमा उल्लेख छ ।
चीनको विदेश मन्त्रालयले भने यी आरोप अस्वीकार गर्दै आधारहीन, अनुमानमा आधारित र चीनको छवि बिगार्ने उद्देश्यले लगाइएको दाबी गरेको छ । एनभिडियाले पनि घटनाबारे स्वतन्त्र अनुसन्धान सुरु गरेको छ । कम्पनीले आफ्नो व्यापारिक गोप्य सूचना वा अमेरिकी राष्ट्रिय सुरक्षामा असर परेको विश्वास गर्ने कुनै आधार नरहेको जनाएको छ ।
यस घटनाले एनभिडियाको सेयर मूल्यमा समेत असर पारेको छ । सोमबारको कारोबारका क्रममा कम्पनीको बजार मूल्य करिब २५० अर्ब अमेरिकी डलरले घटेको थियो । कम्पनीको सेयर मूल्य चार प्रतिशतभन्दा बढीले ओरालो लागेको थियो ।
यसैबीच, हुआङ र एनभिडियाविरुद्ध क्यालिफोर्नियामा सेयरधनीका तर्फबाट सामूहिक मुद्दासमेत दायर गरिएको छ । कम्पनीले हुआङको एलिससँगको सम्बन्ध लुकाएर लगानीकर्तालाई भ्रममा पारेको र ती महिलाले एनभिडियाका उत्पादन अवैध रूपमा चीन पुर्याउन सहयोग गर्न खोजेको आशंका रहेको मुद्दामा दाबी गरिएको छ ।
अमेरिकी संसद्का विभिन्न समितिले पनि एनभिडियाको सुरक्षा व्यवस्था र कथित चिनियाँ गुप्तचर सम्पत्तिसँग हुआङको सम्बन्धबारे जानकारी लिन अर्को साता बन्द बैठकमा उपस्थित हुन आग्रह गरेका छन् ।
एनभिडिया कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली सञ्चालनका लागि आवश्यक अत्याधुनिक चिप निर्माण गर्ने विश्वकै प्रमुख कम्पनीमध्ये एक हो । अमेरिका र चीनबीचको एआई प्रविधिसम्बन्धी प्रतिस्पर्धामा यसको महत्त्वपूर्ण भूमिका छ ।
अमेरिकाले यसअघि चीनलाई उन्नत चिप बिक्रीमा प्रतिबन्ध लगाउँदै आएको थियो । तर, ट्रम्प प्रशासनले गत जनवरीमा निश्चित सर्तसहित एनभिडियालाई आफ्नो दोस्रो उन्नत चिप एच२०० चीनमा बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो । हुआङ भने लामो समयदेखि चीनलाई चिप बिक्रीमा लगाइएको प्रतिबन्धको विपक्षमा रहँदै आएका छन् ।








