काठमाडौँ । सर्वोच्च अदालतले हात्तीलाई मनोरञ्जन र पर्यटनको साधन नभई संवेदनशील प्राणीका रूपमा मान्यता दिँदै आदेश जारी गरेपछि चितवन हात्ती महोत्सवका खेल बन्द गर्न पशुअधिकारवादी संस्था पेटा (पिपुल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स) ले माग गरेको छ ।

पेटाले महोत्सवमा हात्तीलाई प्रयोग गरेर गराइने खेल बन्द गर्न आयोजकसँग माग गर्दै प्रायोजकलाई समेत मत्सवबाट अलग हुन आग्रह गरेको छ ।

पेटाले महोत्सवलाई यसअघि सहयोग गर्दै आएका केही प्रायोजकले साथ छाडेको विज्ञप्तिमार्फत जनाएको छ  ।

पेटाले नेपालमा बन्दी बनाएर राखिएका हात्तीको व्यवहार र उनीहरूमाथि हुने दुर्व्यवहारबारे लामो समयदेखि आवाज उठाउँदै आएको जनाएको छ ।  चितवन हात्ती महोत्सवमा पनि माउतेहरूले लट्ठी र काठबाट बनाइएका धारिला हतियार प्रयोग गरी हात्तीमाथि प्रहार गर्ने गरेको भिडियो सार्वजनिक भएको पेटाको भनाइ छ ।

पेटाका अनुसार महोत्सवका क्रममा एक पाउतेले एउटा हात्तीलाई ६४ पटकसम्म घोच्ने, लात्ती हान्ने र कुटपिट गरेका थिए । पर्यटकसँग फोटो खिचाउन प्रयोग गरिएका तथा प्रतीक्षामा रहेका हात्तीलाई पनि फलामे टुप्पो भएको अङ्कुश र धारिला हतियारले घोच्ने गरिएको भिडियोमा देखिएको पेटाको दाबी छ ।

पेटाका अध्यक्ष जेसन बेकरले सर्वोच्च अदालतको आदेशले हात्ती पर्यटनका सामग्री नभई संवेदनशील प्राणी भएको स्पष्ट पारेको बताए । उनले सर्वोच्चको आदेशसँगै चितवन महोत्सवका पुराना र क्रूर हात्तीका खेल अन्त्य हुनुपर्ने बताए ।

पेटाले नेपाल पर्यटन बोर्ड र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई पनि महोत्सवमा हात्तीको प्रयोग रोक्न आवश्यक कदम चाल्न आग्रह गरेको छ ।

प्रकृतिमा हात्ती मातृप्रधान समूहमा बस्ने, एकअर्काको संरक्षण गर्ने र समूहका बच्चाको हेरचाहमा सामूहिक भूमिका निर्वाह गर्ने प्राणी भएको पेटाले उल्लेख गरेको छ । तर, बन्दी अवस्थामा राखिएका हात्तीलाई प्राकृतिक वातावरण र आवश्यक गतिविधिबाट वञ्चित गरिने तथा उनीहरूमा गम्भीर मानसिक तनावका सङ्केत देखिने संस्थाको भनाइ छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय