काठमाडौँ । कोशी प्रदेशको नामाकरणको सन्दर्भमा दिएको एक अभिव्यक्तिका कारण एमाले नेता विशाल भट्टराई अहिले पहिचानवादीको तारो बनिरहेका छन् । भट्टराईलाई पहिचान विरोधी भन्दै सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भइरहेको छ ।
कात्तिक १९ गते खोटाङको ओख्रेमा आयोजित कार्यक्रममा उनले प्रदेशको नाम एकपटक राखिसकेपछि परिवर्तन गर्नलाई फेरि संविधान चलाउने काम निकै जटिल हुने बताएका थिए । साथै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग प्रदेशको नाम फेर्ने एजेन्डा नभएको र आजसम्म हर्कले प्रदेशबारे कुनै धारणा नराखेको समेत बताएका थिए ।
उनले भनेका थिए, ‘अहिले कोशी भनेको साझा पहिचानको नाम हो, त्यो स्वीकार्नुपर्छ । यही कानुन र संविधानअन्तर्गत जाने हो भने प्रदेशको नामकरण भयो, भयो । अब कोशी भयो, भयो। अब कोशीबाट अर्को नाममा दायाँबायाँ हुनलाई संविधान चलाउनुपर्ने हुन्छ ।’
भट्टराईको यस अभिव्यक्तिपछि पहिचानवादी तथा श्रम संस्कृति पार्टीका समर्थकहरू उत्तेजित बने । यही अभिव्यक्तिका कारण उनको आलोचना भइरहेको छ । तर, आफूलाई जसरी ‘पहिचान विरोधी’ भनेर लखेट्ने प्रयास भइरहेको छ, त्यो गलत रहेको भट्टराईको भनाई छ
आफू माझकिरातमा हुर्किएको, साकेला नाचेर आएको र पार्टीको लाइनभन्दा अलग उभिएर पनि पहिचानको पक्षमा बोल्दै आएको भट्टराईको दाबी छ । विगतमा आफूले टुँडिखेलबाटै कोसी प्रदेशको नाम कोसी किरात वा सगरमाथा किरात बनाउनुपर्छ भनेर बोलेको समेत उनले बताए ।
भट्टराईले नेपालप्रेसलाई भने, ‘मैले कुनै पनि समुदाय लक्षित भएर बोलेकै थिएन । पार्टीभित्र पहिचानको पक्षमा सबैभन्दा बढी बोल्ने नेता हुँ । पार्टीको खोटाङ जिल्ला इन्चार्ज तथा सांसद हुँदा सबै पालिकाहरूको नामाकरण पहिचानको आधारमा राख्नलाई मैले पहल गरेको थिएँ, समर्थन गरेको थिएँ । मेरो घर छेउ खोटाङ बजारमा मैले नै बजेटको पहल गरेर रामप्रसाद राईको शालिक बनाइएको छ । अस्ति हर्क साम्पाङले त्यहाँ पुगेर माला लगाउनुभएछ ।’
हिजोका दिनमा पहिचानको मुद्दा उठाउनेले नै कोसी प्रदेश नामाकरणका बेला जनतालाई धोका दिएको भट्टराईले बताए । तत्कालीन माओवादीले चर्को पहिचानको मुद्दालाई मुखर बनाए पनि अन्तिममा कोसी प्रदेशको पक्षमा भोट हालेर जनतामाथि घात गरेको उनको भनाइ छ ।
अहिले किरात राई यायोख्खाले मात्र पहिचानको आधारमा नामाकरण हुनुपर्ने कुरा उठाइरहेको भट्टराईको भनाई छ । तर, यो एक सामाजिक संस्था मात्र भएकाले राजनीतिक दलले नै यो मुद्दालाई उठाउँदा प्रभावकारी हुने उनले बताए । साथै हर्कले पनि जातीय राजनीति गरिरहेको उनको भनाई छ ।
भट्टराईले भने, ‘हर्क जीले पनि जातीय राजनीति नै गरेको देखिन्छ । यदि हर्क समर्थकहरूले मेरो आलोचना गर्नुभए जस्तो हो भने त श्रम संस्कृतिले प्रदेश नामाकरणको विषयलाई आफ्नो एजेन्डा कहिले बनायो रु हर्क जीले प्रदेश नामाकरणको विषयमाथि कहिले बोल्नुभयो रु बिनासित्ती मेरो भनाइलाई बंग्याएर अपव्याख्या गरियो । मैले समुदाय लक्षित अभिव्यक्ति दिएकै थिएन ।’








