बर्दिया बढैयाताल गाउँपालिका–८,शीतलबजारस्थित भे १४ प ८६२४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। सोमबार बिहान दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक बाँकेको कोहलपुर नगरपालिका–९ बस्ने २० वर्षीय दिक्षित श्रेष्ठ र मोटरसाइकलको पछाडि सवार सोही स्थान बस्ने १६ वर्षीय रिदम थापा घाइते भएका थिए।
घाइते दुवैजनालाई उपचारका लागि नेपालगञ्जस्थित सञ्जीवनी अस्पताल मेडिकल साइन्स कलेज पठाइएकोमा प्रारम्भिक उपचारपश्चात् थप उपचारका लागि भारतको लखनउ लगिएको थियो।
उपचारकै क्रममा आज बिहान चिकित्सकले थापालाई मृत घोषणा गरेका हुन्। मोटरसाइकल चालक श्रेष्ठको शरीरका विभिन्न भागमा चोट लागी अवस्था गम्भीर रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।








