काठमाडौं । गत साउन, भदौ र असोज महिनामा ५९० वटा गैरआवासीय नेपाली नागरिकता जारी भएको छ । यो देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी भएका गैरआवासीय नेपाली नागरिकताको एकीकृत तथ्यांक हो ।
गृह मन्त्रालयले तीन महिनामा गरेको प्रगति विवरण सार्वजनिक गरेको छ । यसमै गैरआवासीय नेपाली नागरिकता लिनेको संख्या समावेश छ ।
गैरआवासीय नेपाली नागरिकता संविधान र नागरिकता ऐन २०६३ को दफा ७(क) बमोजिम विदेशी मुलुकको नागरिकता प्राप्त गरिसकेका साविकका नेपाली नागरिक वा तिनका सन्तानलाई प्रदान गरिने विशेष किसिमको नागरिकता हो ।
सार्क सदस्य राष्ट्रबाहेकका विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले यो सुविधा प्राप्त गर्दछन् । आफू वा आफ्नो बाबु/आमा, बाजे/बज्यै साविकमा नेपालको वंशज वा जन्मको आधारमा नागरिक भएको अवस्थामा गैरआवासीय नेपाली नागरिकता जारी हुन्छ ।
गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले नेपालमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउँछन् । नेपालमा सम्पत्ति आर्जन गर्न, भोग गर्न, बेचबिखन गर्न र अन्य कारोबार गर्न पाउँछन् ।
तर, नेपालमा राजनीतिक अधिकार मतदान गर्न र निर्वाचनमा उम्मेदवार बन्न पाउँदैनन् । गैरआवासीय नेपाली नागरिकताको आधारमा नेपाली राहदानी लिन मिल्दैन । गैरआवासीय नेपाली नागरिक नेपालको सरकारी वा सार्वजनिक पदहरूमा बस्न पाउँदैनन् ।
संविधानको धारा १४ मा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ ।
जहाँ भनिएको छ, ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ ।’
गैरआवासीय नेपाली नागरिकताका लागि छुट्टै वा नयाँ ऐन बनेको छैन । यसलाई साविककै नेपाल नागरिकता ऐन २०६३ मा संशोधन गरेर समेटिएको हो ।
२०७९ सालमा नागरिकता ऐनमा संशोधन गरेर साविकको ऐनको दफा ७ (क) थप गरेर गैरआवासीय नेपाली नागरिकताका लागि आवश्यक कानुनी व्यवस्था गरिएको छ ।
नागरिकता ऐनको दफा ७ (क) मा गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले पाँच किसिमका कागजात पेस गर्नुपर्छ भनेर व्यवस्थित गरिएको छ ।
(क) निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण,
(ख) सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,
(ग) विदेशी मुलुकको नागरिकता भएको प्रमाण,
(घ) दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्रवाहेकको देशमा बसोबास गरेको प्रमाण,
(ङ) नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धतापत्र ।
प्रचलित ऐनको दफा ७ को उपदफा ३ अनुसार नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको भए त्यस्तो व्यक्तिले गैरआवासीय नेपाली नागरिकताको लागि निवेदन दिँदा पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेस गर्नु पर्नेछ ।
साथै, गैरआवासीय नेपाली नागरिकता लिँदा शपथ लिने व्यवस्था अनिवार्य गरिएको छ । यस्तो नागरिकता लिने व्यक्तिलाई सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले शपथ गराउँछन् ।
विदेशस्थित नेपाली दूतावास वा महावाणिज्य दूतावासमार्फत निवेदन प्रक्रिया अगाडि बढाइएको छ भने अन्तिम रूपमा नागरिकताको प्रमाणपत्र जारी गर्ने र शपथ गराउने काम गृह मन्त्रालयको मातहतमा प्रमुख जिल्ला अधिकारीले नै गर्दछन् ।
शपथमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण वफादार रहँदै नेपालको संविधान र प्रचलित कानुनको पालन गर्ने विषय समावेश छ । नेपालको संविधान र प्रचलित कानुनबमोजिम गैरआवासीय नेपाली नागरिकलाई प्राप्त अधिकारबाहेक अन्य कुनै पनि अधिकार उपभोग गर्ने छैन भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्दछ ।
आवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले झुट्टो विवरण दिई नागरिकता प्राप्त गरे दण्डनीय हुन्छ । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्र हित विपरीत कार्य गरेको ठहरेमा गैरआवासीय नेपाली नागरिकता रद्द हुनेछ ।
झुट्टा विवरण वा कागजात पेस गरी नागरिकता लिएमा ३ महिनादेखि १ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिबाना हुनेछ । र नागरिकता पनि रद्द हुने व्यवस्था छ ।








