काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।

मंगलबार वीरेन्द्रनगरस्थित क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले बलिङ गरेको आर्मीले कोशीलाई ६५ रनमै समेटेको थियो । कोशीले निर्धारित इनिङ्स पूरा गर्नुअघि नै सबै विकेट गुमाएको थियो ।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रन बनाइन् । ३६ बल खेलेकी उनले एक छक्का र पाँच चौका प्रहार गरिन् । रुविना महलाले पाँच र सिर्जनाकुमारी राजवंशीले चार रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

आर्मीकी यमुना थारुले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिइन् । चार ओभरमा दुई मेडन राखेकी उनले ६ रन मात्र खर्चिइन् । मनीषा उपाध्यायले दुई तथा कविता कुँवर, ईश्वरी विष्ट, लक्ष्मी साउँद र संगीता गुरुङले एक–एक विकेट लिए ।

६६ रनको लक्ष्य पछ्याएको आर्मीले १३.१ ओभरमा चार विकेट गुमाएर जित हात पार्‍यो । आर्मीका लागि विन्दु रावलले सर्वाधिक २१ रन बनाइन् । उनले २८ बलमा तीन चौका प्रहार गरिन् । रुबी पोद्दारले १८, कविता कुँवरले अविजित १२ र अञ्जली विश्वकर्माले सात रनको योगदान दिइन् ।

कोशीकी कप्तान रुविना क्षेत्रीले तीन तथा एलिशा खादियाले एक विकेट लिइन् । चार विकेट लिएकी आर्मीकी यमुना थारु खेलको प्लेयर अफ द म्याच घोषित भइन् ।

जितसँगै आर्मीले दशौँ राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा विजयी सुरुआत गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय