काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो।

कार्कीले आफूलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

उनले आफूलाई पूर्ववत् आईजीपी पदमा पुनर्बहाली गर्न तथा नयाँ आईजीपी नियुक्त भएका मनोजकुमार केसीलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए।

यसअघि मंसिर ८ गतेका लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन। प्रहरी महानिरीक्षक केसीलाई अदालतको म्याद तामेल नभएको विषय उठेपछि अदालतले प्रहरी प्रधान कार्यालयमार्फत म्याद बुझाउन आदेश दिएको थियो।

त्यस्तै, अर्को सुनुवाइमा मन्त्रिपरिषद्को निर्णयसहितका सक्कल कागजात पेस गर्न र महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई उपस्थित भएर सरकारको धारणा स्पष्ट पार्न अदालतले आदेश दिएको थियो।

के हो विवाद?

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकबाट तत्कालीन आईजीपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो।

कार्कीको स्थानमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको थियो। केसीले सोही दिन दर्ज्यानी चिह्न लगाएर जिम्मेवारी सम्हालेका थिए।

सरकारले भने कार्कीमाथि कुनै कारबाही नभई जिम्मेवारी मात्रै हेरफेर गरिएको दाबी गर्दै आएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धमा आवश्यक सल्लाह, सुझाव र परामर्श दिन आईजीपीस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरिएको बताएका थिए।

सर्वोच्चको पछिल्लो आदेशसँगै कार्कीको पुनर्बहालीको मागमा तत्काल अन्तरिम राहत प्राप्त भएको छैन। रिटको अन्तिम सुनुवाइबाट भने विवादको कानुनी निरूपण हुन बाँकी छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय