काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले अद्यावधिक गरेको जानकारी दिएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले आयोगबाट कार्यसमिति तथा विधान अद्यावधिक भएको जानकारीसहितको पत्र प्राप्त भएको बताएका हुन्।
कांग्रेसको १५औँ नियमित महाधिवेशनबाट थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो। महाधिवेशनपछि महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते विधान संशोधनको विवरण, राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयसहित अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।
बैठकमा संगठनको आगामी कार्यभारअन्तर्गत सञ्चालन गर्न लागिएको ‘हामी तयार छौँ’ अभियानलगायतका विषयमा पनि छलफल भएको महामन्त्री डिला संग्रौलाले जानकारी दिइन्।
त्यसैगरी, सरकारका गतिविधि, आगामी स्थानीय तह निर्वाचनको तयारी तथा पार्टीका संगठनात्मक गतिविधिबारे केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए।
निर्वाचन आयोगबाट कार्यसमिति अद्यावधिक भएसँगै पार्टीको आधिकारिकतासम्बन्धी विवाद नरहेको महामन्त्री संग्रौलाको भनाइ छ।
बैठकले १०औँ राष्ट्रिय खेलकुदको ऐतिहासिक महाकुम्भलाई भव्य र सफल बनाउन स्थानीय तहमा रहेका पार्टीका नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा जुट्न आह्वानसमेत गरेको छ।
बुधबारको बैठक बिहीबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको छ।








