झापा । झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
झापाको दुधेमा जारी प्रतियोगिताको सेमिफाइनलमा एपीएफको जितका लागि रश्मिकुमारी घिसिङले दुवै गोल गरिन्।
खेलको २६औँ मिनेटमा फ्रि–किकमार्फत गोल गर्दै रश्मिले एपीएफलाई अग्रता दिलाएकी थिइन्। त्यसपछि ३८औँ मिनेटमा मनमाया दमाईको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको अग्रता दोब्बर बनाइन्।
दोस्रो हाफमा झापा–११ ले सुधारिएको प्रदर्शन गरे पनि एपीएफको बलियो रक्षापंक्ति तोड्न सकेन। झापाले गोल फर्काउने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा २–० को नतिजामा खेल सकियो।
फाइनल प्रवेशसँगै एपीएफले कम्तीमा ५ लाख ५० हजार रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ।
खेलको प्लेयर अफ द म्याच एपीएफकी कप्तान रेनुका नगरकोटी घोषित भइन्। उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।








