काठमाडौं । अनलाइन जुवा, ठगी र मानहानिकारक सामग्री नियन्त्रण गर्न असफल भएको आरोपमा मलेसियाले गुगलविरुद्ध १४ करोड ६० लाख अमेरिकी डलर बराबरको मुद्दा दायर गरेको छ।
मलेसियाली सञ्चार तथा मल्टिमिडिया आयोगले युट्युबमा रहेका हानिकारक सामग्री हटाउन पर्याप्त कदम नचालेको तथा कानुनी दायित्व र इजाजतपत्रका सर्त उल्लङ्घन गरेको आरोपमा गुगलविरुद्ध दुई छुट्टाछुट्टै मुद्दा अघि बढाएको जनाएको छ।
आयोगका अनुसार सन् २०२६ जनवरी १ देखि अक्टोबर २८ सम्म युट्युबमा रहेका सामग्रीबारे ७३ हजार ७०३ वटा उजुरी परेको थियो। तीमध्ये अधिकांश अनलाइन जुवा, ठगी तथा धोखाधडीसँग सम्बन्धित थिए।
उजुरीमध्ये जुवासम्बन्धी चार हजार ९५० वटा उजुरीमा कुनै प्रतिक्रिया नआएको आयोगको दाबी छ। त्यस्तै, ३५ वटा उजुरीमा कारबाही वा जवाफ दिन ९० दिनभन्दा बढी समय लागेको थियो भने एक हजार ४६८ वटा उजुरीमा ३० दिनभन्दा बढी समय लागेको थियो।
आयोगले यी तथ्याङ्कले युट्युबमा हानिकारक सामग्री नियन्त्रण गर्ने प्रक्रियामा गम्भीर ढिलाइ भइरहेको देखाएको जनाएको छ।
गुगलविरुद्धको दोस्रो मुद्दा भने मलेसियाका एक ब्लगरले युट्युबमा प्रकाशन गरेको कथित झुटो तथा मानहानिकारक सामग्रीसँग सम्बन्धित छ। उक्त सामग्रीबारे उजुरी परे पनि नहटाइएको आयोगको आरोप छ।
रोचक पक्ष के छ भने, गुगलले मलेसियामा आफ्नो लगानी विस्तार गर्ने योजना सार्वजनिक गरेको केही सातामै यो मुद्दा अघि बढाइएको हो। कम्पनीले आगामी दुई वर्षमा १५ अर्ब अमेरिकी डलर लगानी गरी डेटा सेन्टर तथा अन्य पूर्वाधार निर्माण गर्ने योजना सार्वजनिक गरेको थियो।
यसअघि पनि मलेसियाले टिकटकसहित विभिन्न सामाजिक सञ्जालमाथि आपत्तिजनक तथा हानिकारक सामग्री नियन्त्रण गर्न असफल भएको भन्दै कारबाही अघि बढाएको थियो।
पछिल्लो घटनाले सामाजिक सञ्जाल कम्पनीहरूले आफ्नो प्लेटफर्ममा प्रकाशन हुने सामग्रीप्रति कति जिम्मेवारी लिनुपर्छ भन्ने बहसलाई पुनः सतहमा ल्याएको छ।








