काठमाडौं । सरकारले बालश्रम न्यूनीकरण गर्ने उद्देश्यसहित बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक अघि बढाएको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रमलाई पूर्ण रूपमा निषेध गर्नेभन्दा पनि व्यवहारिक आधारमा नियमन र न्यूनीकरण गर्ने गरी कानुन निर्माण गर्न खोजिएको बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विधेयकमाथि भएको छलफलका क्रममा मन्त्री यादवले यस्तो धारणा राखेका हुन्।
उनका अनुसार बालबालिकालाई विद्यालयबाट बाहिर निकालेर काममा लगाउने सरकारको उद्देश्य होइन। बरु उनीहरूलाई विद्यालयमै टिकाउने, शिक्षा र संरक्षणको सुनिश्चितता गर्ने विषयलाई प्राथमिकता दिइएको छ।
तर गरिबी, पारिवारिक अवस्था तथा अभिभावकविहीनताका कारण जोखिममा रहेका बालबालिकाको संरक्षणमा राज्यले खेल्नुपर्ने भूमिकालाई पनि कानुन निर्माण गर्दा ध्यान दिनुपर्ने मन्त्री यादवको भनाइ छ।
विधेयकमा उमेरअनुसार बालश्रमको सीमा निर्धारण गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावअनुसार १३ वर्षसम्मका बालबालिकालाई श्रममा लगाउन रोक लगाउने र १३ देखि १५ वर्षसम्मका बालबालिकालाई घरमा अभिभावकलाई सघाउनेजस्ता सामान्य काममा मात्रै संलग्न गराउन सकिने व्यवस्था गर्न खोजिएको छ।
त्यस्तै, १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि कामको प्रकृति र क्षेत्र छुट्याएर अनुसूचीमार्फत व्यवस्था गर्ने प्रस्ताव गरिएको मन्त्री यादवले जानकारी दिए।
उनका अनुसार विधेयकमा बालश्रम निषेध, नियमन, उद्धार, पुनःस्थापना र पुनःएकीकरणलाई एउटै कानुनी संरचनाभित्र समेट्ने प्रयास गरिएको छ।
मन्त्री यादवले विगतमा सहयोग वा शिक्षाका लागि बालबालिकालाई घरमा राख्ने प्रचलन रहेको उल्लेख गर्दै अहिले कानुनी कारबाहीको डरले असल नियतले हेरचाह गर्न चाहनेहरू पनि हिचकिचाउने अवस्था देखिएको बताए। यस्तो अवस्थालाई स्पष्ट र व्यवस्थित बनाउन नियमन आवश्यक रहेको उनको भनाइ छ।
सरकारले अघि सारेको यो विधेयकले बालबालिकाको शिक्षा, संरक्षण र श्रमसम्बन्धी अधिकारलाई कसरी सम्बोधन गर्छ भन्ने विषय अब संसदीय छलफल र कानुनी व्यवस्थाले निर्धारण गर्नेछ।








