पोखरामा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका- ३२ मजुवामा भएको दुर्घटनामा तनहुँका एक पुरुषको मृत्यु भएको हो ।
पोखराबाट तनहुँतर्फ जाँदै गरेको ग १७ प ३५७३ नम्बरको स्कुटर सडकको भित्तामा ठोक्किएको थियो । दुर्घटनामा चालक तनहुँको शुक्लागण्डकी नगरपालिका ११ का २२ वर्षीया सूचना शर्मा र स्कुटरको पछाडि सवार उनका ६१ वर्षीय बुबा माधवप्रसाद शर्मा गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएकोमा माधवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।








