काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा आएको प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्ने पार्टीको नीति रहेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा बोल्दै सभापति थापाले संकटको समयमा सरकारले नै नेतृत्व गर्नुपर्ने र कांग्रेसले त्यसलाई केन्द्रमा राखेर मद्दत गर्ने बताए ।

थापाले राहत र उद्धार कार्यमा देखिएका कमजोरी औँल्याउनु पनि पार्टीको जिम्मेवारी भएको बताउँदै भने, ‘कहाँ ग्याप छ, कहाँ काम हुन सकेको छैन भनेर औँल्याउनु आलोचना होइन, सरकारलाई सहयोग पुर्‍याउनु हो ।’

बैठकमा थापाले कांग्रेसका केन्द्रीय सदस्यहरू, सांसदहरू र देशभरका निर्वाचित जनप्रतिनिधिहरूलाई स्वेच्छिक रूपमा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आह्वान गरे । ‘पार्टीका विभिन्न समितिहरूबाट सङ्कलित रकम एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा बुझाइनेछ,’ उनले भने, ‘राहत वितरणमा डुप्लिकेसन नहोस् भन्नका लागि यो कदम चालिएको हो ।’

विशेष गरी सुरुङ तथा जटिल भौगोलिक क्षेत्रमा फसेकाहरूको उद्धारका लागि नेपालसँग पर्याप्त विज्ञता नभएको खण्डमा बाहिरबाट मद्दत लिन संकोच मान्न नहुने उनको धारणा थियो । यस विषयमा आफूले परराष्ट्रमन्त्रीसँग पनि कुरा गरिसकेको उनले जानकारी दिए । ‘हामीसँग भएको स्रोतले मात्र पुग्दैन भने बाहिरको मद्दत लिएर भए पनि नागरिकको ज्यान जोगाउनुपर्छ,’ थापाले भने ।

थापाले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका निर्णायक हुने बताए । संघीय सरकारले स्थानीय सरकारसँग उचित समन्वय नगरेकोतर्फ संकेत गर्दै उनले भने, ‘स्थानीय सरकारलाई बाइपास गरेर विपद्को सामना गर्न सकिँदैन । उनीहरूलाई नै सक्रिय र जिम्मेवार बनाउनुपर्छ ।’

थापाले भोलि आफैँ बाढी–पहिरो प्रभावित क्षेत्रको भ्रमण गरी स्थलगत अवस्था बुझ्ने र थप राहतका लागि पहल गर्ने समेत बताए । बैठकमा नुवाकोट, रसुवा र धादिङका नेता तथा कार्यकर्ताहरूले आफ्नो क्षेत्रको वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय