काठमाडौँ । भोटेकोसीमा आएको भिषण बाढीमा परेका १६८ जनाको शव पूर्वी नवलपरासीमा फेला परेको छ । पूर्वी नवलपरासीमा फेला परेका मध्ये हालसम्म ९ जनाको मात्र सनाखत भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसपी रमेश पण्डितले रातोपाटीलाई बताए । नारायणी नदी किनारमा ५२ वटा मानव अङ्गहरू मात्रै फेला परेका छन् । खुट्टा, हात, थाई र केहीको टाउको मात्र भेटिएको हो ।
शव व्यवस्थापनमा समस्या भएको भन्दै स्थानीय प्रशासनले ट्याग लगाएर १ सय वटा शव गाडेर व्यवस्थापन गर्दै छ । नवलपरासी पश्चिमस्थित सुस्ता गाउँपालिका–१ घर भएका यादव भण्डारीको शव पहिचान भएको छ । परिवारका सदस्यहरूले उनको शव सनाखत गरेका हुन् ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ घर भएका उद्धव खड्का, धादिङको खनियाँबास घर भएका सन्जोग घर्तीमगर, अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ घर भएका नारायणबहादुर थापा, हेटौँडा–१५ घर भएका सुमन गोले र नुवाकोटको विदुर नगरपालिका–७ घर भएकी शारदा ढकालको सनाखत भएको छ ।
गोरखाको पालुङटार नगरपालिका–५ घर भएकी कमला देवकोटा, चितवनको माडी नगरपालिका–७ घर भएका विमल काफ्ले र गोरखा पालुङटार घर भएकी सुजाता कौरालको शवको सनाखत भएको छ । सनाखत भएका शवहरू आफन्तको जिम्मा लगाइएको एसपी पण्डितले जानकारी दिए ।







