भैरहवा, १६ भदौ । अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीहरूले भोटेकोशीमा आएको बाढीबाट ज्यान गुमाएका परिवारको राहत तथा पुनःस्थापनाका लागि रु ६ लाख ७५ हजार आर्थिक सहयोग गर्ने भएका छन् ।कर्मचारीहरूले स्वतःस्फूर्त रूपमा संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उद्योगका महाप्रबन्धक उद्धव कार्कीले जानकारी दिनुभयो ।
महाप्रबन्धक कार्कीका अनुसार विपद्को यस घडीमा कर्मचारीहरूले आफ्नो तर्फबाट सानो भए पनि सहयोग गर्दै राहत तथा उद्धारका लागि सकारात्मक सन्देश दिने उद्देश्यले रकम संकलन गरेका हुन् ।“महाप्रलयका बेला हामीले पनि केही सहयोग गर्नुपर्छ भन्ने भावनाले कर्मचारीहरू आफैँले आपसमा सल्लाह गरेर रकम संकलन गरेका हुन्,” उहाँले भन्नुभयो ।
उहाँले उद्योगमा कार्यरत कर्मचारीहरूले पहिलोपटक यसरी स्वतःस्फूर्त रूपमा ठूलो रकम संकलन गरी विपद् प्रभावितका लागि सहयोग गर्न लागेको बताउनुभयो ।उद्योगका सहायक महाप्रबन्धक कृष्ण पाण्डेसहित कर्मचारीहरूको सहभागितामा रकम संकलन गरिएको जनाइएको छ ।







