कन्नड स्टार यशले चलचित्र ‘टक्सिक’ बाट भव्य पुनरागमन गरे पनि फिल्मले बक्स अफिसमा नराम्रो असफलता व्यहोरेको छ।
आफूले निकै आशा गरेको र हिट हुनेमा विश्वस्त रहेको ५०० करोड भारुको ठुलो बजेटको यो फिल्म हलमा टिक्न सकेन। गीतु मोहनदास निर्देशित फिल्ममा उनी ‘रकिङ स्टार’ का रूपमा देखा परेका थिए। रिलिजअघिको व्यापक चर्चाका कारण फिल्मले बक्स अफिसमा बम्पर सुरुआत गरे पनि सामाजिक सञ्जालमा नकारात्मक समीक्षा र दर्शकको आक्रोशका कारण ओरालो लाग्यो।फिल्मले पहिलो दिन भारतमा १०१ करोड र विश्वभर गरी १४५ करोड भारुको शानदार कलेक्सन गरेको थियो। कन्नड सिनेमामा अहिलेसम्मकै सबैभन्दा ठुलो ओपनिङ गर्ने रेकर्ड बनाएपछि निर्माताहरू फिल्म ब्लकबक्सटर हुनेमा ढुक्क थिए।
तर हलमा पुगेका दर्शकले फिल्म खासै मन पराएनन् र निरन्तर कमजोर समीक्षा आउनु नै यसको असफलताको प्रमुख कारण बन्यो। मात्र २ करोड रुपैयाँको बजेटमा बनेको ‘हनुमान अंश’ जस्ता साना फिल्मका अगाडि टक्सिक कमजोर साबित भयो। दोस्रो दिनमै फिल्मको कलेक्सन घटेर ३७ करोड भारुमा झर्यो भने पहिलो सोमबारसम्म आइपुग्दा दैनिक कमाइ १० करोडमा समेटियो।
हलमा ‘हनुमान अंश’ र त्यसपछि रिलिज भएको ‘मिर्जापुर: द मुभी’ सँगको प्रतिस्पर्धाले फिल्मलाई झनै सकस बनायो। रिलिजको १५ औँ दिन अर्थात् सेप्टेम्बर ९ सम्म आइपुग्दा भारतमा यसको दैनिक कलेक्सन ६० लाख र विश्वभर १ करोडभन्दा तल झरेको छ।
सेप्टेम्बर १० सम्म भारतीय बक्स अफिसमा फिल्मले २४७ करोड र विश्वव्यापी रूपमा ३३९ करोड भारु मात्र सङ्कलन गर्न सकेको छ। २०० देखि ३०० करोडको कमाइ ठुलो देखिए पनि ५०० करोड भारुको भारी बजेटका कारण फिल्मले लागत उठाउन अझै २३० करोड कमाउनुपर्ने हुन्छ। बजेट र कमाइबिचको यो ठुलो अन्तरका कारण घाटाको हिसाबले यो फिल्म प्रभासको ‘आदिपुरुष’ भन्दा पनि ठुलो फ्लप बन्न पुगेको छ।
तारा सुतारिया, नयनतारा, हुमा कुरेशी, कियारा आडवाणी र रुक्मिणी वसन्त लगायतका कलाकारको अभिनय रहेको यो चलचित्र गत अगस्ट २६ मा प्रदर्शनमा आएको थियो। सेन्सर बोर्डबाट बिना कुनै कटौती ‘ए’ रेटिङ पाएको यो फिल्म अहिले हलहरूमा अन्तिम सास फेरिरहेको छ।






