काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन कुमार भण्डारीले ग्यासको अभाव र लाइनको अलावा नागरिकहरू महंगीको मारमा परेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महंगिएका खाद्य पदार्थहरूको भाउ नै सुनाए ।
उनका अनुसा पछिल्लो एक महिनामा २५ केजी जिरा मसिनो चामलको मूल्य २२ सयबाट २६ सय पुगेको छ । लंग ग्रेन २० केजीको ३२ सयबाट ३६ सय पुगेको छ ।
मासको दाल एक केजीको १४० बाट २००, रहरको दाल एक केजीको १९० बाट २१० पुगेको छ ।
तेल स्वेनफ्लावर २८० बाट ३१०, भटमासको तेल २७० बाट ३०० पुगेको छ ।
चिनी एक केजीको १४० कटिसकेको छ । अण्डा प्रतिक्रेट ६०० पुगेको छ ।
यी भाउ सुनाउँदै उनले प्रश्न गरे, ‘अनियन्त्रित ढंगबाट मूल्यवृद्धि भएको छ । यो मूल्यवृद्धि हुनुको कारण के हो ? मूल्यवृद्धि नियन्त्रणमा सरकार र सम्बन्धित मन्त्रालयको के योजना रहेको छ ?’
मूल्यवृद्धि नियन्त्रण गर्न संघ सरकार, प्रदेश र स्थानीय सरकार लगायत सम्बद्ध निकायले अनुगमन गर्नुपर्ने उनको आग्रह छ ।








