काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाको नतिजा आज सार्वजनिक गरिने भएको छ।
आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाभरका कुल ३३ जना भाग्यशाली विजेताहरूको नाम आज घोषणा गर्न लागिएको हो । भदौ महिनाका विजेता ३१ जनाले जनही एक लाख रुपैयाँ र बम्पर उपहार विजेता २ जनाले १० लाख रुपैयाँ पाउने भएका छन् ।
यसअघि भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण स्थगित भएको थियो। स्थगित भएको सोही कार्यक्रम आज आयोजना गर्न लागिएको हो। विभागको कार्यालय लाजिम्पाटस्थित सभाहलमा आयोजना गरिने विशेष कार्यक्रममार्फत नतिजा सार्वजनिक गरिनेछ।
सरकारले सर्वसाधारणलाई उपभोक्ताको रूपमा सामान वा सेवा खरिद गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिने बानीको विकास गराउने उद्देश्यले चालू आर्थिक वर्षदेखि प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ।








