काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल नै रहेको छ। महाशाखाले आगामी तीन दिनका लागि नदीहरूको जलसतह र बाढीको अवस्थाबारे पूर्वानुमान सार्वजनिक गर्दै असोज १, २ र ३ गते कोशी जलाधार क्षेत्रका चतरास्थित सप्तकोशी, त्रिवेणीको तमोर, सिम्लेको अरुण र खुवाबजारको दुधकोशी नदीमा जलसतह उल्लेख्य बढ्ने जनाएको छ । बुस्तीको तामाकोशीमा आज सामान्य वृद्धि भए पनि असोज २ र ३ गते जलसतह उल्लेख्य बढ्ने सम्भावना देखिएको छ। हम्पचुवारको सुनकोशी नदीमा पनि तीनै दिन जलसतह उल्लेख्य रूपमा बढ्ने बताइएको छ ।
नारायणी जलाधारतर्फ देवघाटका नारायणी, बेत्रावतीका त्रिशुली, आरूघाटका बुढीगण्डकी, विमलनगरका मर्स्याङ्दी, दमैलीका सेती र कुमालगाउँका कालिगण्डकी नदीमा असोज १ देखि ३ गतेसम्म नै जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ। यस्तै कर्णाली जलाधारका चिसापानी र असाराघाटका कर्णाली, समजिघाटका भेरी तथा दिपालयका पश्चिम सेती नदीमा आगामी तीन दिनसम्म जलस्तर सामान्य रूपमा बढ्नेछ। पारिगाउँस्थित महाकाली नदीमा भने तीनै दिन जलस्तर उल्लेख्य रूपमा बढ्ने बताइएको छ ।
अन्य नदीहरूतर्फ मैनाचुलीको कन्काई र वेलसोतको कमला नदीमा आगामी तीन दिन सामान्य रूपमा बहाव बढ्नेछ। पधेशदोभानको बागमती र रजैयाको पूर्वी राप्ती नदीमा असोज १ गते उल्लेख्य रूपमा जलसतह बढे पनि असोज २ र ३ गते सामान्य रूपमा मात्र वृद्धि हुने बताइएको छ । कुसुमको पश्चिम राप्ती र चेपाङको बबई नदीमा आगामी तीन दिनसम्म बहाव सामान्य रूपमा बढ्ने स्थिति छ।
स-साना नदीहरूको सन्दर्भमा बिहीबार ताप्लेजुङ, संखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, धादिङ, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा, अछाम र आसपासका जिल्ला भई बहने खोलाहरूमा सतर्कता अपनाउनुपर्ने देखिएको छ । यी क्षेत्रका साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना रहेको बुलेटिनमा भनिएको छ।
असोज २ गते सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने चेतावनी दिइएको छ । त्यस्तै असोज ३ गते कोशी र मधेश प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना रहेको हुनाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई पूर्वसावधानी अपनाउन बुलेटिनमार्फत आग्रह गरिएको छ ।









