काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले आसन्न १५औँ महाधिवेशनमा पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । उनले पार्टीभित्रको आन्तरिक व्यवस्थापन र महाधिवेशनको प्रक्रियालाई सौहार्दपूर्ण बनाउन नेतृत्वले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए ।

सहमहामन्त्री राणाले महाधिवेशनमा धेरैभन्दा धेरै कार्यकर्ताको सहभागिता सुनिश्चित गर्न पार्टी नेतृत्व तयार रहेको स्पष्ट पारे । उनले भने, ‘सकभर सबैले महाधिवेशनमा भाग लिने वातावरण निर्माण गर्न हामी तयार छौँ। पार्टी फुट्नुहुँदैन भन्ने हाम्रो स्पष्ट मान्यता हो। सबैलाई व्यवस्थापन गरेर महाधिवेशन सम्पन्न गर्न हामी वार्ताका लागि समेत तयार छौँ।’

पार्टीभित्रका असन्तुष्ट वा सक्रिय हुन चाहने कार्यकर्ताको सम्मान गर्ने विषयमा आफूहरू सजग रहेको बताउँदै उनले थपे, ‘वडा तहमा जान कठिनाइ हुने पुराना साथीहरूलाई सभापतिले महाधिवेशन प्रतिनिधि बनाएर सम्मान गर्ने व्यवस्था मिलाउनुहुन्छ भन्ने विश्वास छ। हामी साथीहरूको सम्मान राख्न तयार छौँ।’

आफ्नो उम्मेदवारीका विषयमा उठिरहेको जिज्ञासामा सहमहामन्त्री राणाले स्पष्ट पारे कि उनले सधैँ पार्टी सभापतिसँग समन्वय गरेर अघि बढ्ने नीति लिएका छन्। ‘धेरै साथीहरूले तपाईं कहाँबाट उठ्ने हो भनेर सोधिरहनुभएको छ। तर, मेरो स्पष्ट जवाफ छ— पार्टी सभापतिले जहाँ भन्नुहुन्छ, म त्यहीँबाट उठ्छु। राजनीतिमा माथि जाने सबैको चाहना हुन्छ, तर मेरो निर्णय सभापतिको सल्लाहमा नै हुन्छ, उनले भने।

सहमहामन्त्री राणाले कांग्रेसलाई १५औँ महाधिवेशनमार्फत थप बलियो र एकताबद्ध बनाउनु नै अहिलेको मुख्य आवश्यकता रहेको बताए। उनले सबै पक्षलाई व्यवस्थापन गरेर सहमतिका साथ अघि बढ्ने वातावरण बनाउन आफूहरूले हरसम्भव प्रयास गरिरहेको जानकारी दिए।

राणाको यो अभिव्यक्तिले १५औँ महाधिवेशनको सङ्घारमा रहेको कांग्रेसमा देखिएको आन्तरिक संवाद र एकताको प्रयासलाई सकारात्मक रूपमा लिएको छ। पार्टीभित्रका सबै पक्षलाई समेटेर लैजानसके मात्र कांग्रेस थप शक्तिशाली बन्ने उनको भनाइ छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय