काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा नेता ज्ञवालीले सत्तारुढ दल रास्वपाले संख्याका दम्भमा संविधानमा छेडखानी गर्न खोजेपनि अदालतको आदेशले त्यसलाई रोकिदिएको बताएका हुन् ।
‘भनेकै थियौँ– संसद नियमावली मार्फत संविधान संशोधन गर्न मिल्दैन । तर सङ्ख्याको दम्भमा संविधानमा छेडखानी गर्न खोज्नुभयो’, ज्ञवालीले भनेका छन्,‘संविधान गतिशील दस्ताबेज हो, यो असंशोधनीय छैन ।’
तर उनले लामो सङ्घर्ष र बलिदान तथा दुई –दुईवटा संविधानसभाबाट निकै कठिनाइसाथ निर्मित संविधान लहडका भरमा भने संशोधन हुन नसक्ने टिप्पणी गरेका छन् ।
बुधबार प्रतिनिधिसभा नियमावली, २०८३ का दुई विवादित व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिएको थियो । संविधान संशोधनको प्रक्रिया सजिलो बनाउने गरी राखिएको व्यवस्था र सांसदहरूलाई प्रचलित कानुनभन्दा विशेष हैसियत दिन खोज्ने उक्त प्रावधान अदालतले तत्काललाई रोकेको हो ।
प्रतिनिधिसभामा झन्डै दुईतिहाइ बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जोडबलमा गत जेठ १७ गते नियमावली पारित भएको थियो । तर नियमावलीमा संविधान र प्रचलित कानुनसँग बाझिने प्रावधान राखिएको भन्दै विपक्षी दलले नियमावली पास गर्दैगर्दा विरोध गरेका थिए भने सर्वोच्चमा मुद्दा दायर भएको थियो ।









