बेलायतका राजा चार्ल्स तृतीयले एआईको सुरक्षित र समाजहितमा प्रयोगबारे छलफल गर्न बिहीबार उच्चस्तरीय बैठक आयोजना गर्दैछन् । बैठकमा बेलायत सरकार, एआई कम्पनी, प्रविधि क्षेत्र तथा गैरसरकारी संस्थाका प्रतिनिधि सहभागी हुनेछन् । एनभिडियाका प्रमुख जेन्सेन ह्वाङ, गुगल डीपमाइन्डका संस्थापक डेमिस हासाबिस, बेलायतका एआई मन्त्री कनिष्का नारायण तथा ओपनएआई र एन्थ्रोपिकका प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ ।
बैठकमा मानिस र वातावरण दुवैका लागि लाभदायक हुने गरी एआई विकास र प्रयोगका साझा सिद्धान्त तथा ढाँचा निर्माण गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा छलफल हुनेछ ।
त्यसो त ७७ वर्षीय राजा चार्ल्सले यसअघि पनि एआईप्रति सावधानी अपनाउनुपर्ने धारणा राख्दै आएका छन् । सन् २०२३ को बेलायत एआई सुरक्षा सम्मेलनमा उनले एआईले गोपनीयता, रोजगारी र लोकतन्त्रमा चुनौती सिर्जना गर्न सक्ने भन्दै नयाँ प्रविधिको लाभ सबैमा बाँडिनुपर्ने बताएका थिए ।
यसैबिच पछिल्लो समय एआईको तीव्र विकास र सुरक्षाबारे प्रविधि उद्योगभित्रै बहस बढेको छ । एन्थ्रोपिकका प्रमुख डारियो अमोडेईले एआई मोडलको क्षमता बढाउने गति केही सुस्त बनाउनुपर्ने बताएका छन् । ओपनएआईका प्रमुख साम अल्टम्यान र एलन मस्कले पनि एआई विकासमा सुरक्षा निगरानी आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।








