दक्षिण कोरियाली गर्ल ग्रुप ‘ब्ल्याकपिंक’का सदस्यहरू पुनः व्यक्तिगत सांगीतिक गतिविधिमा केन्द्रित हुन थालेका छन् । अगस्ट ८, २०२६ मा समूहको १०औँ वार्षिकोत्सव मनाएपछि जेनी, जिसु र लिसा नयाँ सोलो संगीत सार्वजनिक गर्ने तयारीमा छन् ।

सन् २०२५ को उत्तरार्ध र २०२६ को सुरुआती समय विश्व भ्रमणमा बिताएको समूहले फेब्रुअरीमा समूहकै नाममा तेस्रो ईपी सार्वजनिक गरेको थियो । यो करिब चार वर्षपछि आएको समूहको पहिलो एल्बम थियो ।

‘द कोरिया हेराल्ड’का अनुसार समूहगत गतिविधि सकिएपछि तीन सदस्य व्यक्तिगत रूपमा नयाँ संगीत ल्याउन केन्द्रित भएका छन् । यसमा जेनी पहिलो बनेकी छन् । उनले आफ्नो पहिलो एलपी ‘रुबी’ सार्वजनिक भएको करिब एक वर्ष पाँच महिनापछि डिजिटल ईपी ‘फलेन एन्जल’ ल्याएकी छन् ।

तीन ट्रयाक समेटिएको यो प्रोजेक्टमा शीर्ष गीत ‘हेभन’ र ‘लेस द्यान अ लभर’ समावेश छन् । ‘लेस द्यान अ लभर’ जुलाई २४ मै अग्रिम रूपमा सार्वजनिक गरिएको थियो ।

अल्टरनेटिभ पप शैलीको ‘लेस द्यान अ लभर’को लेखन र कम्पोजमा जेनी स्वयं सहभागी छिन् । उनका यसअघिका धेरै सोलो गीतको तुलनामा यसमा संयमित सांगीतिक शैली अपनाइएको छ । सार्वजनिक भएपछि गीतले २७ क्षेत्रका आइट्युन्स ‘टप सङ्स’ चार्टमा पहिलो स्थान हासिल गरेको थियो ।

जिसुले सेप्टेम्बर ४ मा नयाँ सिंगल ‘क्लिक’ सार्वजनिक गर्नेछिन् । गत वर्षको ईपी ‘अमोर्टेज’पछिको यो उनको पहिलो सोलो रिलिज हुनुका साथै पहिलो एलपी पनि हुनेछ ।

‘अमोर्टेज’ले ४५ क्षेत्रका आइट्युन्स ‘टप एल्बम्स’ चार्टमा पहिलो स्थान हासिल गरेको थियो भने यसको प्रमुख सिंगल ‘अर्थक्वेक’ बिलबोर्डको ‘वर्ल्ड डिजिटल सङ सेल्स’ चार्टको शीर्ष स्थानमा पुगेको थियो ।

जिसुले अक्टोबर २०२५ मा जेनसँग ‘आइज क्लोज्ड’ पनि सार्वजनिक गरेकी थिइन् । उक्त गीत बिलबोर्ड हट १०० मा ७२औँ स्थानबाट प्रवेश गरेको थियो ।

यसैबीच, लिसा आफ्नो नयाँ सोलो एल्बम ‘प्रेस प्ले’को तयारीमा छिन् । एल्बम अक्टोबर २३ मा सार्वजनिक हुने तय भएको छ ।

छ ट्रयाक समेटिएको एल्बमअघि उनले सेप्टेम्बर ३ मा ‘सावाडिका’ सार्वजनिक गर्नेछिन् । गीतको शीर्षक थाई अभिवादन ‘सवास्दी का’बाट लिइएको हो । एल्बममा विश्वव्यापी कलाकारका रूपमा लिसाका अनुभवसँगै उनको थाई सम्पदाका तत्व पनि समेटिने अपेक्षा गरिएको छ ।

‘प्रेस प्ले’ लिसाको पहिलो पूर्ण एल्बम ‘अल्टर इगो’ सार्वजनिक भएको करिब एक वर्ष आठ महिनापछि आउन लागेको हो । ‘अल्टर इगो’मा ‘रकस्टार’, ‘न्यु वुमन’ र ‘बर्न अगेन’लगायत गीत समावेश थिए ।

ब्ल्याकपिंकका सदस्यहरूले वाईजी इन्टरटेनमेन्ट छाडेपछि सुरु गरेको अघिल्लो सोलो रिलिजको क्रमसँग अहिलेको गतिविधि मिल्दोजुल्दो देखिन्छ । सन् २०२४ मा लिसाको ‘रकस्टार’बाट सुरु भएको उक्त चरणमा सदस्यहरूले समूहबाहिर आ-आफ्नो अलग सांगीतिक पहिचान स्थापित गरेका थिए ।

त्यसक्रममा जेनीले ‘मन्त्र’, रोजेले ब्रुनो मार्ससँग ‘एपीटी’ र जिसुले ‘अर्थक्वेक’ सार्वजनिक गरेका थिए । ब्ल्याकपिंकका चार सदस्यमध्ये रोजेले मात्र २०२६ का लागि नयाँ सोलो संगीत घोषणा गरेकी छैनन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय