काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चाडपर्वपछि सरकारका गलत कदमविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
शुक्रबार ललितपुरमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ भनिएको सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको टिप्प्णी गरे। उनले संसदभित्र प्रतिपक्षीहरूलाई एकताबद्ध गर्ने र सडकमा सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनहरूलाई समेटेर चाडपर्वपछि सडक संर्घषले गर्ने बताए।
प्रचण्डले देशमा उत्पन्न राजनीतिक चुनौती, वैदेशिक हस्तक्षेप र प्रतिक्रान्तिको खतरा सामना गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूको व्यापक एकता र ध्रुवीकरण आवश्यक रहेको बताए। भाद्र २४ गतेको विध्वंसले गर्दा कम्युनिस्टहरूबीच ढिला नगरी नयाँ शिराबाट एकता प्रक्रिया अघि बढाउन नेतृत्वलाई दबाब र ऊर्जा मिलेको उनले बताए। पुराना पार्टी र नेताहरूले विगत ३५ वर्षमा केही गरेनन् भनी फैलाइएको भाष्यको खण्डन गर्र्दै आफ्नै नेतृत्वमा भएका प्रमुख विकास तथा पूर्वाधारका कामहरू भएको प्रचण्डको जिकिर छ। कार्यक्रममा नेकपाका सह–संयोजक माधवकुमार नेपालले देश हाल ठूलो सङ्कटमा रहेको र विदेशीहरूको विभिन्न चलखेलका कारण राष्ट्रियता जोखिममा परेको उल्लेख गरेका छन्। दुई ठूला छिमेकी मुलुककोबीचमा रहेको नेपाल विदेशीहरूको खेलमैदान बन्न नहुने उनको भनाइ छ।








