काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी भए लगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरणा दिएको बताएका छन्।

१२औँ संविधान दिवस (२०८३) को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई बधाई दिँदै अध्यक्ष ओलीले वक्तव्यमार्फत संविधान निर्माणका क्रममा ठूलो मूल्य चुकाउनुपरेको स्मरण गराएका हुन्। उनले संविधानको रक्षा र पूर्ण कार्यान्वयनमा जोड दिएका छन्।

संविधानसभाबाट जारी यो ऐतिहासिक संविधानले नेपाली जनतालाई पूर्ण रूपमा सार्वभौमसत्ता सम्पन्न बनाएको र संघ, प्रदेश तथा स्थानीय गरी तीन तहको शासन प्रणाली स्थापित गरेको उनले उल्लेख गरे।

नागरिक स्वतन्त्रतासहित ३१ वटा मौलिक हकको व्यवस्था गरिएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले संविधानले प्रत्याभूत गरेका हकहरूलाई व्यवहारमा उतार्न राज्य बलियो हुनुपर्ने बताए। सोही सामर्थ्य निर्माण गर्दै समाजवादको दिशामा अघि बढ्न एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्य तय गरेको उनले स्पष्ट पारे।

आफ्नो नेतृत्वको सरकारले छोटो समयमै आवश्यक कानुन निर्माण र संरचनात्मक विकासमार्फत संविधानलाई कार्यान्वयनको चरणमा लगेको दाबी गर्दै ओलीले वर्तमान राजनीतिक परिस्थितिप्रति भने गम्भीर चिन्ता व्यक्त गरे। उनले राज्यका प्रमुख धरोहरहरूमाथि भएको आक्रमणपछि संवैधानिक व्यवस्था र लोकतन्त्रमाथि नै संकट  पैदा गरिएको आरोप लगाए।

वक्तव्यमा वर्तमान सरकार कानुनी राज्यको मान्यता विपरीत स्वेच्छाचारी ढङ्गले अघि बढेको, संवैधानिक संरचनाहरूलाई कुल्चिएको र ‘जान्नेलाई छान्ने होइन, मान्यलाई छान्ने’ नीति बनाएर अन्धाधुन्ध राजनीतिक नियुक्ति दिइरहेको दाबी गरिएको छ। साथै, सरकार बाह्य शक्तिकेन्द्रको गोटी बनेर देशलाई भू-राजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन उद्धत रहेको आरोप लगाउँदै ओलीले यस्तो स्थितिबाट मुलुकलाई जोगाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न संविधानका पक्षधर शक्तिहरूलाई एक ठाउँमा उभिन आह्वान गरेका छन्।

शुभकामना सन्देशको अन्त्यमा अध्यक्ष ओलीले लोकतान्त्रिक, वामपन्थी एवम् देशभक्तिपूर्ण आन्दोलनका सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय