काठमाडौं । उत्तरी गोरखाको सामागाउँलगायतका क्षेत्रमा भारी हिमपात भइरहेको छ। चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, साम्दो र आसपासका क्षेत्रमा हिजो केही समय हिमपात भएको थियो, तर त्यसपछि रोकिएको थियो। यद्यपि, आज बिहाना ७ बजेबाट फेरि हिमपात सुरु भई तीव्र रूपमा बढिरहेको छ। पथप्रदर्शक अमृत खनालका अनुसार, चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित भएको छ।
चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँ, साम्दो, तथा वडा नं. २ मा पर्ने स्याल्ला र ल्हो क्षेत्रमा अहिलेसम्म करिब १.५ फिट जति बाक्लो हिउँ जमिसकेको छ। हिमपातका कारण स्थानीयवासीलाई घरबाहिर निस्कन कठिन भएको छ भने दैनिक जीवनयापनमा समेत असर परेको छ।
यसैबीच, हिमपातका कारण लार्के पासतर्फ जाने पर्यटकहरू सामागाउँमै रोकिएका छन्। अर्का पथप्रदर्शक सुवास पोखरेलका अनुसार, “यत्तिकै हिमपात जारी रहे लार्के पासतर्फ अघि बढ्ने अवस्था हुँदैन। मौसमको अवस्थालाई मध्यनजर गर्दै मात्रै निर्णय गरिनेछ।“
हिमपातले लार्के पास जाने पदमार्ग पूर्ण रूपमा ढाकिएको छ, जसले पदयात्रा गर्नेलाई थप कठिनाइ भएको छ। मौसमविद्हरूका अनुसार, केही दिनसम्म मौसम प्रतिकूल रहने सम्भावना रहेकाले स्थानीयवासी र पर्यटकहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।






