काठमाडौं, साउन २८ — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले काठमाडौंको बत्तिसपुतलीस्थित गोल्डन गेट कलेजमा महिला छात्रामाथि भएको अमर्यादित व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ।

संघठनले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख अनुसार, छात्राबासमा कपडा फेर्दै गरेका छात्राहरूको कोठामा एक शिक्षक आपराधिक मानसिकता र गलत नियतका साथ प्रवेश गरी आतंकित पार्ने घटना घटेको छ। यसबारे विद्यार्थीहरूबाट गुनासो प्राप्त भएपछि संगठनले तत्काल दोषीलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न र पीडित विद्यार्थीमाझ सार्वजनिक माफी माग्दै निलम्बन गर्न माग गरेको छ।

अनेरास्ववियू (क्रान्तिकारी) ले चेतावनी दिंदै भनेको छ— “२४ घण्टाभित्र माग पूरा नभए सशक्त प्रतिवाद हुनेछ र यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित कलेज प्रशासनले लिनुपर्छ।”

विज्ञप्तिमा हालका दिनमा निजी विद्यालय/कलेजहरूमा विद्यार्थीहरू असुरक्षित हुने, दुर्व्यवहारका घटनाहरू बढ्दै गएको र शिक्षा व्यवसायलाई नाफामुखी बनाउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरिएको छ। साथै सरकारले यस्तो घटनाको छानबिन गरी निजी शैक्षिक संस्थामा विद्यार्थीहरूको सुरक्षाको वातावरण सुनिश्चित गर्न जोडदार माग गरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय