काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सत्ता पक्षका सांसदहरू आफ्नै सरकारप्रति बढी आक्रामक देखिएको भन्दै व्यंग्य गरेका छन् ।मंगलबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राईले सत्ता पक्षका सांसदहरूले सरकारमाथि कडा प्रश्न उठाउन थालेपछि प्रतिपक्षको भूमिका नै ओझेलमा पर्न थालेको बताए ।सत्ता पक्षका सांसदहरूले आफ्नै सरकारका मन्त्री तथा प्रधानमन्त्रीसँग प्रभावकारी समन्वय गरेर जनहितका काममा लाग्नुपर्नेमा उनले जोड दिए ।
सरकार गठन भएको चार महिना बित्न लाग्दा पनि ठोस गति लिन नसकेको भन्दै उनले असन्तुष्टि जनाए । जनताले स्थिरता र विकासका लागि नयाँ शक्ति तथा वर्तमान गठबन्धनलाई विश्वास गरेको स्मरण गर्दै उनले सरकारले पाँच वर्षको कार्यकाल पूरा गरेर परिणाम दिनुपर्ने बताए ।
‘अहिले प्रतिपक्ष ओझेलमा परेको जस्तो देखिन्छ । सत्ता पक्षले नै प्रतिपक्षको जागिर खोसेर खाइदिन खोज्दैछन् । सरकारलाई हामीले भन्दा कडा प्रश्न सत्ता पक्षकै माननीयहरूले सोधिरहनुभएको छ,’ उनले भने ।
सरकारले गति लिन नसकेको र आफ्नै सांसदहरूको चित्त बुझाउन नसकेको अवस्था देखिएको उनले बताए ।
‘दुई तिहाइ नजिकको बहुमत भएको सरकारले सही ढंगले काम गर्नुपर्छ । यस्तो खिचातानी र नैराश्यता देखिनु जनताका लागि दुर्भाग्य हो । हामी चाहन्छौँ यो सरकार टिकोस् र काम गरोस् । तर चार महिना नपुग्दै मान्छेहरूमा नैराश्यता आउनु सुखद् संकेत होइन,’ राईले भने ।
मुलुकमा देखिएको ग्यास अभाव तथा बजारमा देखिएका समस्याबारे समेत बोल्दै सांसद राईले सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने बताए ।
उनले जनताका दैनिक समस्यालाई प्राथमिकतामा राखेर सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिए ।






