
बेनी — म्याग्दी जिल्ला प्रशासन कार्यालयले जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै सर्वसाधारण, व्यापारी, पर्यटक र पर्यटन व्यवसायीहरूलाई सतर्क रहन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागद्वारा जारी मौसमी पूर्वानुमान अनुसार आगामी मंसिर ९ गतेदेखि देशका विभिन्न उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेकाले म्याग्दीमा पनि यसको प्रभाव पर्न सक्ने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी बबीरप्रसाद तिवारीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “म्याग्दी जिल्लास्थित उच्च पहाडी र हिमाली भेगमा हिमपात हुन सक्ने भएकाले त्यहाँका स्थानीय बासिन्दा, व्यापारी, पर्यटक तथा पर्यटन व्यवसायीहरूले आवश्यक तयारी र सावधानी अपनाउन अनुरोध गरिएको छ।”
प्रशासनले धौलागिरी, मुढी, खोप्रा, पूनहिल, घोडेपानी, बेगखोला लगायतका पर्यटन स्थलमा मौसम प्रतिकूल हुँदा यात्रा नगर्न, आवतजावतका क्रममा जोखिमपूर्ण बाटो प्रयोग नगर्न र सुरक्षाका मापदण्ड पालना गर्न सुझाव दिएको छ।
साथै, हिमपातका कारण आवागमनमा समस्या आउन सक्ने भएकाले स्थानीय तह र सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रहन र आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।






