राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई लक्षित गर्दै देश निर्माण कुनै एक व्यक्ति वा संस्थाको प्रयासले मात्र सम्भव नहुने बताएका छन्।
रुपन्देहीको भैरहवामा शनिबार आयोजित पार्टी कार्यक्रममा बोल्दै आचार्यले देश विकासका लागि संघसँगै प्रदेश र स्थानीय तहको पनि प्रभावकारी भूमिका र समन्वय आवश्यक रहेको बताएका हुन्।
उनले रास्वपा सरकारमा आएको ६ महिना पनि पूरा नभएको उल्लेख गर्दै देश निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
‘हामी जिम्मेवारीमा आएको ६ महिना पनि बितेको छैन। देश एक्लैले बन्दैन, २७५ जना सांसदले पनि बन्दैन,’ आचार्यले भने, ‘देश बनाउन सबैको साथ र समन्वय चाहिन्छ।’
आचार्यले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई पुराना राजनीतिक दल वा ती दलसँग आबद्ध व्यक्तिलाई गालीगलौज गरेर नभई आफ्नो काममार्फत जवाफ दिन आग्रह गरे।
स्थानीय तह र प्रदेशको निर्वाचन नजिकिँदै गएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा पार्टीका नेता तथा कार्यकर्ताको सक्रिय साथ र सहयोग आवश्यक पर्ने बताए।
रास्वपामा पुराना राजनीतिक दलबाट समेत ठूलो संख्यामा मानिसहरू प्रवेश गरेको स्वीकार गर्दै आचार्यले नवप्रवेशीलाई लक्षित गरी चित्त दुख्ने गरी टिप्पणी वा आलोचना नगर्न पार्टी पंक्तिलाई आग्रह गरे।
उनले पार्टीका सांसद तथा जनप्रतिनिधिलाई संरक्षण गर्ने मात्र नभई उनीहरूबाट गल्ती भए प्रश्न उठाउने र आवश्यक खबरदारी गर्ने जिम्मेवारी पनि नेता–कार्यकर्ताको रहेको बताए।






