काठमाडौं । श्रीगणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २८औँ वार्षिकोत्सवको अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत गोंगबु गणेशस्थानस्थित आफ्नै कार्यालय परिसरमा आयोजित कार्यक्रममा १३२ पिन्ट रगत संकलन भएको संस्थाले जनाएको छ।

रक्तदान कार्यक्रममा सहकारीका सदस्य, कर्मचारी, शुभेच्छुक तथा स्थानीय सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। विभिन्न उमेर समूहका रक्तदाताले कार्यक्रममा सहभागी हुँदै रक्तदान गरेका थिए।

संस्थाका अध्यक्ष श्याम पाण्डेका अनुसार वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रममा सीमित नगरी सामाजिक सेवासँग जोड्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो। उनका अनुसार आकस्मिक अवस्थामा बिरामी तथा घाइतेका लागि आवश्यक पर्ने रगतको अभाव कम गर्न रक्तदानले महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

कार्यक्रम संस्थाको सामाजिक उपसमिति संयोजक लीला भण्डारीको संयोजकत्वमा सम्पन्न भएको हो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने रक्तदाता, सहकारीका सदस्य तथा कर्मचारी, स्वयंसेवक र अन्य सहयोगीप्रति संयोजक भण्डारीले आभार व्यक्त गरिन्।

भण्डारीले सामाजिक उत्तरदायित्वलाई संस्थाको नियमित गतिविधिको महत्वपूर्ण हिस्सा बनाउँदै आएको बताइन्। आगामी दिनमा पनि समुदायको हितमा केन्द्रित सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै उनले भनिन्, “अबका हरेक वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ।”

रक्तदान कार्यक्रम सम्पन्न गर्न ब्लोदान काठमाडौं मध्यक्षेत्रका अध्यक्ष आर.बी. ठकुरीको विशेष सहयोग रहेको संस्थाले जनाएको छ।

वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रमले सहकारी संस्थाहरू आर्थिक कारोबारमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व र समुदायप्रतिको दायित्वमा समेत सक्रिय हुनुपर्ने सन्देश दिएको आयोजकको भनाइ छ।

संस्थाले आगामी दिनमा सदस्य तथा समुदायको हितलाई केन्द्रमा राख्दै विभिन्न सामाजिक, जनमुखी तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय