काठमाडौँ । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ ले पाँच दिनमै आयोजकको लक्ष्य पार गरेको छ। साउन २६ गतेदेखि सुरु भएको एक्स्पोको पाँचौं दिन शनिबार मात्रै ४२ हजारभन्दा बढी अवलोकनकर्ता पुगेपछि ५ दिनमा कुल संख्या १ लाख ५० हजार नाघेको हो।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ६ दिनमा डेढ लाख अवलोकनकर्ता आउने लक्ष्य राखेको थियो। लक्ष्य पूरा भइसके पनि एक्स्पोको अन्तिम दिन आइतबार अझ ठूलो संख्यामा दर्शक आउने आयोजकको अपेक्षा छ।
शनिबार अवलोकनकर्ताको भीड यति बढ्यो कि पार्किङ व्यवस्थापनमै चुनौती देखिएको थियो। भृकुटीमण्डप परिसरका खाली स्थानसँगै नेपाल पुलिस क्लबका दुई तला र खाद्य गोदाम ग्राउन्डसम्म पार्किङका लागि प्रयोग गरिए पनि सवारी व्यवस्थापन सहज हुन सकेन। पटक–पटक भएको भारी वर्षाका बाबजुद पनि एक्स्पोमा अवलोकनकर्ताको उत्साह भने घटेन।
अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले पाँचौं दिनमै लक्ष्य पूरा हुनु उत्साहजनक भएको बताए। उनका अनुसार एक्स्पोको अन्तिम दिनलाई अझ विशेष बनाउने तयारी गरिएको छ।
एक्स्पोको पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका थिए। पाँचौं दिनको ४२ हजारसहित कुल संख्या डेढ लाख नाघेको हो।
५५ ब्रान्ड, ५३ नयाँ मोडल
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन्। हालसम्म विभिन्न कम्पनीले ५३ नयाँ मोडल सार्वजनिक गरिसकेका छन्। पाँचौं दिन लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी मोटरहबले आर्कफक्स क्रसओभर सार्वजनिक गरेको छ।
एक्स्पोमा नयाँ विद्युतीय कार, ई–स्कुटर, विद्युतीय व्यावसायिक सवारीसाधन तथा पहिलोपटक नेपाल प्रवेश गरेका ब्रान्ड मुख्य आकर्षण बनेका छन्। दुईपांग्रे सवारीका स्टलमा पनि उल्लेख्य भीड देखिएको छ भने महँगा ब्रान्डका सवारीमा युवाको आकर्षण बढेको छ। अवलोकनकर्ताले विशेषगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर–सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी÷ग्यारेन्टी र रिसेल भ्यालुबारे चासो राखिरहेका छन्। धेरै विकल्प एकै स्थानमा उपलब्ध हुँदा आफ्नो बजेट र आवश्यकताअनुसार सवारी छनोट गर्न सहज भएको उनीहरूको भनाइ छ।
ग्राहक आकर्षित गर्न कम्पनीहरूले मूल्यमा छुट, एक वर्षको बिमा र सवारी कर, निःशुल्क सर्भिसिङ तथा सहुलियत ब्याजदरमा कर्जालगायतका सुविधा ल्याएका छन्। बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले पनि एक्स्पोमै सवारी खरिदका लागि विभिन्न योजना सार्वजनिक गरेका छन्।
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले ठूलो संख्यामा अवलोकनकर्ता आउनुले एक्स्पोलाई सफल बनाएको बताइन्। पारामाउन्ट मोटर्सका प्रबन्ध निर्देशक शिरीषकुमार मुरारकाले पनि ठूलो संख्यामा दर्शक आकर्षित हुनु नाइमाको महŒवपूर्ण सफलता भएको बताए।






