काठमाडौँः नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेता–कार्यकर्तालाई व्यक्तिगत स्वार्थ र पदभन्दा माथि उठेर देश तथा जनताको हितमा काम गर्न आग्रह गर्नुभएको छ । झापाको बिर्तामोडमा आयोजित ‘मिसन पार्टी जागरण अभियान–२०८३’ उद्घाटन गर्दै ओलीले आफू प्रधानमन्त्री वा पार्टी अध्यक्ष बन्ने उद्देश्यले राजनीतिमा नआएको बताउनुभयो ।
उहाँले राजनीतिमा व्यक्तिगत लाभभन्दा राष्ट्रिय हित र आदर्शलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । ओलीले आफूले के पाउनेभन्दा देश र जनताका लागि के दिन सकिन्छ भन्ने सोच्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले जस्तोसुकै परिस्थितिमा पनि देश र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताउनुभयो । यसैबीच, ओलीले एमालेको पुनर्गठन र नेतृत्व परिवर्तनबारे चलाइएको चर्चा निरर्थक भएको दाबी गर्नुभयो । पार्टी पुनर्गठन तथा नेतृत्व हटाउने विषयमा भइरहेका चर्चा ‘बेतुकको हल्ला’ भएको भन्दै उहाँले अहिले त्यस्तो आवश्यकता नरहेको बताउनुभयो ।
उहाँले पार्टीलाई थप सुदृढ बनाउँदै देश र जनताको पक्षमा प्रभावकारी रूपमा अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।






