काठमाडौं। नेपाली कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय सम्मेलन आज सम्पन्न हुँदैछ ।
कांग्रेस नेताहरूका अनुसार बन्दसत्रमा पेस भएका विभिन्न प्रस्ताव आज सुझावसहित पास गर्ने र सम्मेलन सम्पन्न गर्ने कार्यक्रम छ ।
काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा साउन ३१ गतेदेखि सुरु भएको भेलालाई कांग्रेसले राष्ट्रिय सम्मेलनमा परिणत गरेको थियो । करिब पाँच हजार जना सहभागी भएको भनिएको सम्मेलनको उदघाटन पूर्वसभापति शेरबहादुर देउवाले गरेका थिए ।
साउन ३० गतेदेखि सुरु भएको बन्दसत्रमा नेता विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, डा. प्रकाशशरण महतले आर्थिक–सामाजिक नीतिको कार्यदिशा र एनपी साउदले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका थिए ।
ती प्रस्तावहरुमाथि सहभागीहरुले धारणा राख्ने र सुझाव दिने क्रम आज पनि जारी छ । सबै सुझावलाई समेटेर प्रस्तावहरुलाई अन्तिम रुप दिइने सम्मेलनमा सहभागी कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरु बरालले बताए ।
प्रस्तावहरु पारित गरेपछि आजै सम्मेलन सम्पन्न हुने उनले जानकारी दिए ।






