काठमाडौं :नेपालमा विद्युतीय तथा डिजिटल प्रविधियुक्त सवारीसाधनको प्रयोग तीव्र रूपमा बढे पनि त्यसअनुसारको पूर्वाधार, डेटा व्यवस्थापन, साइबर सुरक्षा र दक्ष जनशक्तिको भने अझै अभाव रहेको सरोकारवालाहरूले बताएका छन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘एआई एन्ड अटोमोटिभ टेक्नोलोजी: ड्राइभिङ द फ्युचर अफ मोबिलिटी’ विषयक संवाद कार्यक्रममा उनीहरूले यस्तो धारणा राखेका हुन्।
वक्ताहरूले अटोमोबाइल क्षेत्रलाई केवल सवारी आयात र बिक्रीमा सीमित नराखी डेटा, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

१. पूर्वाधार र स्थानीय डेटाको आवश्यकता
वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सूर्यांश वैद्यले एआईको प्रयोग सवारीसाधनमा मात्र नभई ट्राफिक व्यवस्थापन र सडक सुरक्षामा समेत गर्न सकिने बताए। सवारीमा जडित सेन्सरका डेटा विश्लेषण गरी रुट प्लानिङ, चार्जिङ स्टेसनको पूर्वसूचना र मौसमअनुसार ट्र्याक्सन कन्ट्रोल मोड परिवर्तन गर्न सकिने उनको भनाइ थियो।
“अटोनोमस (स्वचालित) ड्राइभिङका लागि स्पष्ट लेन र व्यवस्थित ट्राफिक चाहिन्छ। नेपालका फरक सडक अवस्थाका लागि वैदेशिक नभई स्थानीय डेटा र अनुसन्धानमा आधारित प्रविधि आवश्यक छ।” — सूर्यांश वैद्य, सीईओ, वैद्य इनर्जी
सवारीसाधनबाट संकलित डेटा सरकारी निकायसँग साझेदारी गर्न सके सडकका खाल्डाखुल्डी र पूर्वाधारका समस्या पहिचान गर्न सहज हुने उनले बताए।
२. डेटा सुरक्षा र सरकारी नियमन
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका प्रमुख सल्लाहकार सञ्जय पौडेलले आधुनिक सवारीसाधनसँगै डेटा व्यवस्थापन र गुणस्तर मापनको स्पष्ट नीति चाहिने बताए। सवारीमा सफ्टवेयर र सेन्सरको प्रयोग बढ्दा साइबर सुरक्षाको जोखिम पनि उत्तिकै बढेको उनको भनाइ छ।
सरकारले सबै प्रविधिमा एकैपटक लगानी गर्नुभन्दा नेपालको आवश्यकता र आर्थिक सम्भावनाका आधारमा प्राथमिकता तोकेर ‘इनोभेसन ल्याब’ तथा अनुसन्धानमा लगानी गर्नुपर्नेमा पौडेलले जोड दिए।

३. परम्परागत शिक्षा प्रणाली र जनशक्तिको अभाव
टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीका सूचना प्रविधि निर्देशक डा. सुमन थापलियाले नेपालका शिक्षण संस्था अझै परम्परागत विषयमा सीमित रहेकाले अटोमोटिभ प्रविधिका लागि दक्ष जनशक्ति उत्पादन हुन नसकेको बताए।
शिक्षामा सुधारका लागि डा. थापलियाले ‘६०-२०-२०’ को मोडल प्रस्ताव गरे:
• ६०% कोर एकेडेमिक्स (आधारभूत शिक्षा)
• २०% इमर्जिङ टेक्नोलोजी (एआई, रोबोटिक्स, एज कम्प्युटिङ, अटोमोटिभ सफ्टवेयर)
• २०% इन्डस्ट्री एप्लिकेसन (व्यावहारिक अभ्यास)

४. अनुसन्धानलाई दीर्घकालीन लगानी मान्नुपर्ने
नेपाल एप्लाइड म्याथमेटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्चकी कार्यकारी निर्देशक सन्ध्या सिटौलाले एआईलाई रोजगारी खोस्ने प्रविधिका रूपमा मात्र हेर्न नहुने बताइन्। उनले अनुसन्धानलाई खर्च नभई दीर्घकालीन लगानीका रूपमा लिनुपर्ने धारणा राखिन्।
नेपाल केवल प्रविधिको उपभोक्ता मात्र नरहेर स्थानीय डेटा र अनुसन्धानमार्फत समस्याको समाधान खोज्ने मुलुक बन्नुपर्नेमा उनले जोड दिइन्।






